३० आश्विन २०८३, शुक्रबार

सेनाद्धारा निर्मित कालीगण्डकी करिडोरको ३० किमि सडक हस्तान्तरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ पुस । सेनाद्धारा निर्माणाधीन कालीगण्डकी करिडोर अन्तर्गतको सडक खण्ड हस्तान्तरण गरिएको छ । सेनाले कालीगण्डकी करिडोर आयोजना अन्तर्गत गुल्मीको रुद्रवेनीदेखि अर्वेनीसम्म २० किलोमिटर र बाग्लुङ्गको मालढुङ्गादेखि बलेवा एयरपोर्टसम्म १० किलोमिटरसहित जम्मा ३० कि.मि. सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको हो ।

यसैबीच, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतको निरीक्षण भ्रमण टोलीबाट निर्माणाधीन कालीगण्डकी करिडोरको स्थलगत निरीक्षण गरेका छन् ।

उक्त सडक हस्तान्तरण कार्यक्रममा आफ्नो बोल्दै मन्त्री ज्ञवालीले नेपाली सेनाले विकास निर्माणका जोखिमपूर्ण अवस्थामा कठिन कार्यहरु गर्दै गरेको साथै महत्वपूर्ण घडीमा समेत राष्ट्रलाई सहयोग गर्दै आएको बताए । यस कालीगण्डकी करिडोर पनि त्यसको ज्वलन्त उदाहरण हो ।

कालीगण्डकी करिडोरलाई मित्रराष्ट्र चीन र भारतसँग जोड्ने सामरिक महत्वका योजनाका रुपमा रहेकोले मुलूकको आर्थिक समृद्धिमा भाग्यरेखाको कार्य गर्नेछ । अब हामीले दुई छिमेकी राष्ट्रको आर्थिक विकासबाट लाभ लिएर नेपालको आर्थिक उन्नतिमा लाग्नुपर्ने मन्त्री ज्ञवालीले बताए ।

कार्यक्रममा प्रधानसेनापति थापाले आफ्नो नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने गहन जिम्मेवारी नेपालको संविधानले नेपाली सेनालाई प्रदान गरेको बताए ।

साथै विपद् व्यवस्थापन र राष्ट्र निर्माण लगायतका नेपाल सरकारले तोकेका कानुन सम्मत थप कार्यहरु समेत हाम्रा संवैधानिक जिम्मेवारीहरु हुन् । “राष्ट्र सबैभन्दा पहिला”तथा “कर्तव्य सधैँ पहिला”भन्ने संस्थागत मान्यतालाई आत्मसात गर्दै निर्दिष्ट जिम्मेवारीहरुलाई सम्पन्न गर्न नेपाली सेना सदैव प्रतिवद्ध रहेको पनि जनाए ।

नेपाली सेनाले संविधानप्रदत्त संवैधानिक दायित्वहरुलाई सदैव गहन रुपमा लिँदै आएको छ । साथै नेपाल सरकारको नीति नियम र रक्षा मन्त्रालयको प्रत्यक्ष मातहतमा रही भविष्यमा समेत आफ्ना जिम्मेवारीहरु संवैधानिक परिधिभित्र रही पूरा गर्न नेपाली सेना सदैव कटिवद्ध रहिरहने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्यहरु, भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशव शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका स्थानीय प्रमुखहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरुलगायत स्थानीयहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

नेपाल सरकारबाट मिति २०७० वैशाख २० गते उक्त करिडोर अन्तर्गतको सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले रिडिदेखि रुद्रवेनीसम्मको ७ कि.मि. सडक खण्ड मिति २०७५ फाल्गुण १ गते सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरेको थियो ।

उक्त सडक आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको छ ।