काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पर्यटनमन्त्री योगेश भट्टराईले अमेरिकन परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा भएका कतिपय बुँदा र प्रावधान संशोधन गर्नुपर्ने बताएका छन्।
आइतबार सुरु भएको स्थायी कमिटी बैठकमा सोमबार भट्टराईले त्यसमा भएका कतिपय प्रावधानले अन्योल जन्माउन खोजेको र त्यसमा उल्लेख भएका सर्त र प्रावधानसहित जस्ताको जस्तै संसद्बाट पास भए दीर्घकालीन रुपमा सरकार र पार्टीलाई समेत हित नगर्ने बताएका हुन्।
‘पार्टीको स्थायी कमिटी बैठक बसेको छ। यो विषयमा गहन रुपले छलफल होस्, एससिसी स्वीकार गर्दा नेपालले तयार पार्ने परियोजनाको हितमा होस्, नेपालको असंलग्न नीतिविपरीत पनि नहोस्’, मन्त्री भट्टराईको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सदस्यले भने। उनका अनुसार बैठकमा एससिसीको विषय मन्त्री भट्टराईले नै प्रवेश गराएका थिए।
एसिया प्रशान्त क्षेत्रमा आफ्नो सैन्य प्रभाव विस्तार गर्न अमेरिकाले सञ्चालन गरिरहेको ‘इन्डो प्यासिफिक रणनीति’ अन्तर्गतकै एमसिसीको परियोजनामा उल्लेख गरिएका बुँदालाई संशोधन गरेर मात्रै अघि बढाउन भट्टराईले जोड दिएका थिए।
बैठकमा सोमबार बोलेका १२ जनामध्ये भट्टराईसहित तीनजनाले एमसिसीअन्तर्गतका कार्यक्रम संसद्बाट पारित गर्दा त्यसका उल्लेख गरिएका प्रावधान तथा सर्त संशोधन गर्नुपर्ने बताएका थिए।
संघीय संसद्बाट एमसिसी पास गराउने कुरा चलिरहेका बेला सरकारमा सहभागी मन्त्री र सत्तारुढ दलका मुख्य नेताहरु नै त्यसको विपक्षमा लागेका हुन्। प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी शर्मा ओलीले सो परियोजना पास गराउने बताउँदै आएका छन्।
स्वास्थ्यका कारण बैठकमा ओली सहभागी भएका छैनन्। बैठकमा प्रत्येक सदस्यलाई २० मिनेटको समय दिइएको थियो। बैठकमा अन्य सदस्यले समयमै आफ्ना भनाइ सके पनि भीम रावल र देव गुरुङले करिब आधा घण्टा बोलेका थिए। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया