
तेह्रथुम, ३० मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेश भवनहरुको सोमबार आयोजित एक समारोहबीच उद्घाटन गरे । साथै उनले उक्त सबै भवनहरुको निरीक्षण समेत गरे ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा कायम राख्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्लास्थित सबै २ नगरपालिका, ४ गाउँपालिका, जिल्ला शिक्षा समन्वय ईकाई तेह्रथुम, भवन निर्माण व्यवसायीलाई कदरपत्र तथा अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी र नागरिकबीच हातेमालो गरी नागरिकमैत्री सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै नागरिकको मन जित्ने गरी काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । नागरिकसँग सम्बन्धित कामलाई छिटो छरितो रुपमा सम्पन्न गर्न अझै सक्रिय रूपमा उत्रनुपर्नेमा उनले जोड दिए ।
समाजमा हुने सबै किसिमका अपराध नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी आवधारणा अनुरुप विभिन्न सचेतनामूलक कार्यक्रमकासाथ प्रहरीलाई सहयोग गर्न उनले समाजका सबै वर्गलाई आह्वान समेत गरे । भवन निर्माण कार्य सन्तोषजनक रुपमा सम्पन्न गरेकोप्रति उनले सन्तोष प्रकट गरे ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले धन्यवाद ज्ञापन गर्दै अपराध रोकथाम तथा नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको चर्चा गरे ।
समारोहमा म्याङलुङ्ग नगरपालिकाका प्रमुख संजय कुमार तुम्वाहाम्फे, तेह्रथुम जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी भक्त बहादुर खड्का, जिल्ला समन्वय समिति तेह्रथुमका उपप्रमुख प्रेमलता गौतम घिमिरेले आआफ्नो मन्तव्य गर्दै प्रहरीले विगतका दिनहरुमा भवनको अभावले अत्यन्तै कष्टकर तवरले प्रहरी सेवा प्रदान गर्दै आएकोमा नवनिर्मित सुन्दर भवनबाट प्रहरीले गर्ने सम्पूर्ण सेवाहरु सुन्दर किसिमको हुने आपेक्षा राखिएको विचार व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक नविन किशोर प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी निरीक्षक ई. केबिनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटमा निर्माण कार्य सम्पन्न भएका भवनमध्ये ३ तलाको कार्यालय भवनमा २७ कक्ष, २ तलाको ब्यारेक भवनमा १० कक्ष, १ तलाको मेश भवनमा ४ कोठा, १ तलाको कार्यालय प्रमुख निवासमा ४ कोठा रहेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञावालीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनाल, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, महिला संजाल लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, अमर प्रहरी परिवार, स्थानीय भद्रभलादमी, समुदाय प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु, स्थानीय संचारकर्मी र प्रहरी कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रदेश सभासदहरु, पुर्व सांसदहरु, पूर्व प्रहरी कर्मचारीहरु तथा अमर प्रहरी परिवार, स्थानिय भद्रभलादमी, संचारकर्मीहरु समेतसँग भेटघाट गरी अन्तरक्रिया समेत गरेका थिए ।
उक्त कार्यक्रम पश्चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय तेह्रथुम तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिएका थिए ।















प्रतिक्रिया