काठमाडौं, ३० मंसिर । मधेस शान्त थियो। अपराधी समूह सेलाएको थियो। तर महिना दिनयता प्रदेश–२ अशान्त छ। श्रृंखलाबद्ध बम पड्किन थालेको छ। बिस्फोटमा मान्छेको मृत्यु भएको छ। अपराधीले थापेको बम पड्किएर धनुषामा शुक्रबार राति सुरक्षाकर्मी र स्थानीय गरी तीन जनाको ज्यान गइसकेको छ। प्रहरीसहित चार गम्भीर घाइते भए।
शान्त तराई अपराधीको गतिविधिले फेरि अशान्त बनेको हो। कहीँकतै विप्लव समूहले बम राखेको प्रहरीको भनाइ छ भने कतै अपराधी समूहले चन्दा संकलन गर्न बम पड्काउँदै आएको छ। सरकारी कार्यालय, साहूमहाजनको घर, सार्वजनिक स्थानमा टाइम, प्रेसर, सकेटजस्ता बम राख्ने अनि बिस्फोट गराउने समूह सक्रिय छन्। मंसिर दोस्रो साता यता महोत्तरी, सलाही, धनुषा, सिराहामा लगालग बम राखिएको भेटियो। कतै सेनाले निस्कृय पारे त कतै पड्किएर धनजनको क्षति भयो।
शुक्रबार मध्यरातमा धनुषाको महेन्द्रनगरका राजेश साहको घरमा बम पड्कियो। बिस्फोटमा परेर इन्स्पेक्टर अमिर दाहाल, घरधनी राजेश र उनका स्कूले छोरा आनन्दको ज्यान गयो। प्रहरीसहित चार घाइते भए घटनाले राजेश र प्रहरी इन्स्पेक्टरको घरपरिवार भावविह्वल भएका छन्। गाउँमा सन्नाटा छाएको छ। मृतकको घरमा दुई दिनदेखि चुलोमा आगो बलेको छैन। घरमा बम राखेको सूचना इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा गरिएको थियो। सुरक्षाकर्मी राजेशको घर पुग्दा बम बिस्फोट भएको थियो।
घटनामा राजेशका बुबा भिखारी, छोरी अञ्जली, कान्छो छोरो प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भए। स्थानीय सबिता खातुन र अकबर मन्तुरी पनि सामान्य घाइते भए। भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ भने अन्य तीनको धरानमा उपचार भइरहेको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया