
-प्रतिक पौडेल
भैरहवा, २९ मंसिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अहिले आफूलाई अत्याधुनिक शहरको रुपमा रुपान्तरण गर्न लागिपरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माण धमाधम हुँदैछ ।
हरेक दिन आफूलाई प्रविधि मैत्री बनाइरहेको सिद्धार्थनगरमा आइतबार आधुनिक शहरको झल्को दिनेगरि आधुनिक प्रविधिको डिजिटल प्रतिक्षालय तथा डिजिटल ट्राफिक आइल्याण्डको शुरुवात भएको छ ।
सिद्धार्थनगर नगरपालिकासँगको समझदारीमा निजी क्षेत्रले भैरहवाको मुख्य सडकका ३६ स्थानमा डिजिटल प्रतिक्षालय र २० स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गर्ने सम्झौता भएको हो ।
त्यसका लागि झण्र्डै १६ करोड लगानी गरिंदैछ । निजी साझेदारी (पिपिपि) मोडेलमा रहेर नगरपालिकाले सन आउटडोर प्रालिसँग सम्झौता गरेर डिजिटल सिद्धार्थनगर परियोजना शुरु गरेको हो । सन आउटडोरले आफ्नै लगानीमा निर्माण गर्नेछ ।
भैरहवाको बुद्धचोकमा ४, देवकोटा चोकमा २ र बसपार्कमा १ गरि ७ वटा डिजिटल प्रतिक्षालय निर्माण भैसकेको छ भने बुद्धचोकमा, देवकोटा चोकमा र बर्मेलिटोलमा गरी तिन स्थानमा ट्राफिक आइल्याण्ड निर्माण भएको छ ।
आइतबार नगरप्रमुख हरिप्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले भैरहवाको बुद्धचोकमा निर्माण भएको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड उद्धघाटन गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर समेत शैलेन्द्र कुमार श्रेष्ठका नगरको सुन्दरतामा ध्यान पुर्याउदै नगरपालिकाले निजी साझेदारीमा नगरलाई डिजिटल बनाउन डिजिटल सिद्धार्थनगर परियोजना शुरु गरेको बताए । श्रेष्ठले नगरको सुन्दरताको साथसाथै यात्रुहरुको सहजतासँगै नगरपालिका भित्रको ट्राफिक व्यवस्थापन पनि सहज हुने जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिकाले सन आउटडोर प्रालिसँग १० वर्षको लागि वार्षिक १० लाख रुपैयाँ रोयल्टी लिने गरी सम्झौता गरेको छ र त्यो बापत सनले कानुनले निषेध नगरेका विज्ञापन गर्न पाउनेछ ।
डिजिटल प्रतिक्षालयमा विभिन्न प्रचार सामाग्री सुन्दर किसिमले राखिनेछन् । यात्रुको लागि घामपानीमा ओत लाग्ने स्थानको समेत व्यवस्था गरिएको छ ।
सन आउटडोर प्रालिका सिइओ बसन्त पाण्डेले भने, ‘यो व्यापारिक परियोजना भए पनि यसले शहरलाई सुन्दर बनाउँछ ।’ पाण्डेले पर्यटकिय नगरि भैरहवाको सौन्दर्यताका साथै यात्रुहरुलाई सहजता पनि हुने बताए । पाण्डेले युरोपियन स्ट्याण्डरमा चिनमा निर्मित डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्ड निर्माण भएको जानकारी दिए ।

पाण्डेका अनुसार ५ वर्षपछि प्रालिले आफ्नै लगानीमा नयाँ प्रविधिको डिजिटल प्रतिक्षालय र ट्राफिक आइल्याण्डलाई अपग्रेड समेत गर्ने छ । पाण्डेका अनुसार १६ करोड लगानी निर्माणको मात्र नभएर १० बर्ष सम्मको संचालन खर्च समेत गरि हो ।
यस्तै जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक महेश बस्नेतले भैरहवा क्षेत्रमा ट्राफिक आइल्याण्ड स्थापना हुनु धेरैनै सकारात्मक काम भएको जानकारी दिए । बस्नेतका अनुसार अब भैरहवामा ट्राफिक व्यवस्थापनमा सहज हुने बताए ।
परियोजना अन्तर्गत पहिलो चरणको काम सकिएको छ । दोस्रो र तेस्रो चरणमा २९ वटा डिजिटल प्रतिक्षालय र १७ वटा डिजिटल ट्राफिक आइल्याण्ड निर्माण हुनेछ ।















प्रतिक्रिया