५ कार्तिक २०८३, बिहिबार

असन्तुष्टलाई मनाउन सभापति देउवा सक्रिय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको कार्यतालिकासहित सबै विषयमा प्याकेजमै सहमति गर्ने प्रयास थालिएको छ।

१४औं महधिवेशनको कार्यतालिकालाई केन्द्रीय समिति बैठकको एजेन्डा नबनाएसम्म असन्तुष्ट पक्षले बैठकमा सहभागी नहुने अडान राखेपछि शनिबार संस्थापन पक्षले सहमतिको प्रयासलाई तीव्र बनाएको हो।

तर साँझसम्म विवाद समाधानका लागि ठोस खाका तयार नभए पनि संस्थापन र इतर समूह सहमतिबाटै निकासमा पुग्न लचिलो बनेका हुन्।

नेता रामचन्द्र पौडेलसहितका असन्तुष्ट पक्षले १४औं महाधिवेशनको कार्यतालिकाको अजेन्ड केन्द्रीय समितिमा नआएको भन्दै बिहीबार केन्द्रीय समिति बैठक बहिष्कार गरेका थिए।

संस्थापनइतरबाट बैठक बहिष्कार भएपछि सहमतिका लागि सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर शनिबार बिहान पौडेल निवास बोहोराटार पुगे।

संस्थापनसँग वार्ता गर्न गठित वार्ता समितिका सदस्य हृदयराम थानी पनि पौडेल निवासमै थिए।

त्यहाँ भएको दुई पक्षीय वार्ता सकारात्मक नभए पनि त्यसपछि पुनः असन्तुष्ट पक्षबाट वार्ता समितिका संयोजक प्रकाशमान सिंह निवास चाक्सीबारीमा झन्डै तीन घन्टा लामो छलफल भयो।

सभापतिका तर्फबाट वार्तामा रहेका उपसभापति निधि सिंहलाई टेलिफोन गरेर छलफलका लागि दिउँसो ४ बजे चाक्सीबारी पुगे। त्यहाँ पौने ७ बजेसम्म भएको दुई पक्षीय छलफलमा असन्तुष्ट पक्षले महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने अडान दोहोर्‍यायो।

साथै भ्रातृ संगठनको नेतृत्व तथा कार्यसमिति, पार्टीका विभागहरूका साथै अन्य निकायमा प्याकेजमै सहमति हुनुपर्ने अडान राखिएको छ। पार्टीसहित सबै निकायमा सम्मानजनक सहभागिता हुनुपर्ने भन्दै सोहीअनुसारको भागबन्डा गर्नुपर्ने अडान असन्तुष्ट पक्षले उपसभापति निधिसँग राखेको छ।

१४औं महाधिवेशनको कार्यतालिका साथै प्याकेजमै सहमतिका लागि लिखित सहमति गर्नुपर्ने अडान असन्तुष्ट पक्षको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।