५ कार्तिक २०८३, बिहिबार

एक वर्षपछि नेकपा स्थायी समिति बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेकपा स्थायी समिति बैठक एक वर्षपछि आइतबार बस्दै छ। पार्टी विधानअनुसार स्थायी समिति बैठक तीनतीन महिनामा बस्नुपर्छ। यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन।

एक वर्षबीचमा सचिवालयले गरेको संगठनात्मक निर्णय अनुमोदन गराउन, वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउन, राजनीतिक प्रतिवेदनअनुसार विधानको प्रस्तावना संशोधन गर्ने प्रस्ताव पारित गराउन र पार्टी कामको ६ महिने कार्ययोजना पारित गराउन स्थायी समिति बैठक बस्न लागेको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समितिअगाडि सचिवालय बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकमा छलफलका लागि लैजाने एजेन्डा तय गर्नेछ। मंसिर २३ मा बसेको नेकपा सचिवालयले २९ गतेका लागि स्थायी समिति बैठक तोकेको थियो। मंसिर २७ मा सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रस्ताव तयार पार्न ढिलाइ भएका कारण बैठक सर्दै आएको थियो। अध्यक्ष दाहालले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए।

दुई अध्यक्षबीच स्थायी समिति बैठकमा लग्ने एजेन्डा र दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले बतायो। एक वर्षपछि बस्न लागेको स्थायी समिति बैठकलाई शीर्ष नेतृत्वले दुई दिनभित्र पार्टीका संगठनात्मक काम र आगामी योजनाको निर्णय लिएर सक्ने तयारी छ। स्थायी समिति सदस्यहरूले भने पार्टी कामको समग्र समीक्षा र आगामी योजनाका विषयमा समय लिएर छलफल गर्नुपर्ने पक्षमा छन्।

‘एक वर्षबीचमा पार्टीमा भएका कामका सन्दर्भमा पार्टीले जे अनुभव व्यहोरेको छ, त्यसको समीक्षा गर्ने र कमीकमजोरी सुधारेर लैजाने विषयमा स्थायी समिति बैठक केन्द्रित हुनुपर्छ,’ स्थायी समिति सदस्य गोकर्ण विष्टले भने, ‘त्यसका लागि सचिवालयले तय गरेका दुई दिन अपर्याप्त हुन सक्छ। समय लिएर भए पनि छलफल गर्नुपर्छ।’

अर्का स्थायी समिति सदस्य मणि थापाले लामो अन्तरालमा स्थायी समिति बैठक बोलाएर पार्टी परिचालनको सन्देश दिन खोजिएको बताए। ‘एक वर्षको अन्तरालमा बल्ल स्थायी समिति बैठक बोलाएर पार्टी परिचालनको सन्देश दिन खोजिएको छ,’ उनले भने, ‘पार्टी सचिवालयले कस्ता एजेन्डा ल्याउँछ, त्यस आधारमा समयसीमा निक्र्यौल हुन सक्ला।’

स्थायी समिति बैठकमा सचिवालय विस्तारले पनि प्रवेश पाउने देखिएको छ। वरिष्ठ नेता माधव नेपालले यसअघि नै सचिवालयमा तत्कालीन एमालेतर्फका तीन नेतालाई थप गर्न प्रस्ताव गरेका थिए। तत्कालीन एमालेमा उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालयमा लैजान नेताहरूले कुरा उठाउने तयारी गरेका छन्। ‘तत्कालीन एमाले तर्फका एक जना उपाध्यक्ष राष्ट्रपति, अर्का उपाध्यक्ष फेरि पनि उपाध्यक्ष अनि हामी तीन जना सचिवालयमा समेत नपर्ने विषय निरन्तर उठिरहन्छ,’ स्थायी समिति सदस्य युवराज ज्ञवालीले भने।  अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।