३० आश्विन २०८३, शुक्रबार

भ्रमण वर्ष २०२० को प्रदेश स्तरीय शुभारम्भ बर्दियाको ठाकुरद्धारामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २५ मंसिर । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्धारामा आयोजना गरिने भएको छ ।

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ वर्षसँगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।

भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन प्रदेश नं. ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितले तयारी थालेको हो ।

नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहनुभएका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भव्य बनाउन आवश्यक तयारी थालिएको बताए । मन्त्री गिरीले पर्यटन प्रवद्र्धन समिति सचिवालयको मंगलबार बैठक बोलाएर आवश्यक तयारी थालेका हुन् ।

भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा वर्दियाको ठाकुरद्धारामा ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सचिवालय बैठकमा मन्त्री गिरीले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रदेशका अन्य मन्त्रीहरु, सांसदहरु, सचिवहरु, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवर्द्धन समितिका ५/५ जना सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुख लाई निमन्त्रणा गरिएको छ ।

त्यस्तै उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, संचार क्षेत्र तथा विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले जानकारी दिए ।

उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत माग गर्ने निणर्य समेत गरिएको छ । उद्घाटनका दिन जनवरी १ तारिखका दिन विहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गरिने सह संयोजक नेपालले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री गिरीले पर्यटनलाई जनताको आयआर्जन संग जोड्न नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेको भन्दै यसलाई सबैले सहयोग गर्न गनुपर्ने धारणा राखे ।

उद्घाटन कार्यक्रमलाई थप भब्य बनाउन होटल व्यवसायी संघ प्रदेश नं. ५ ले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विषेश छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको संघका प्रदेश समिति अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । ती पर्यटकले जंगल सफारी समेत गर्नेछन् । अन्य विदेशी पर्यटक आए उनीहरुलाई पनि विषेश छुटसहितको खानेबस्ने व्यवस्था गरिने काफ्लेले बताए ।

सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका सातैवटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन् ।

प्रदेश नं. ५ सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई सफल र प्रभावकारी रुपले संचालन गर्ने आधार तयार गर्न लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरेर यसका विभिन्न कार्यक्रमहरु संचालन भइरहेका छन् ।