३ कार्तिक २०८३, मंगलबार

रुस र युक्रेनबिच युद्धविरामको सहमति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ मंसिर । युक्रेन र रुसबिच यो वर्ष (सन् २०१९) को अन्त्यसम्ममा पूर्वी युक्रेनमा ‘पूर्ण र बृहत’ युद्धविराम लागु गर्ने सहमति भएको छ । उच्चस्तरीय वार्तापछि दुई देशबिच युद्धविरामको सहमति भएको हो ।

फ्रान्सको राजधानी पेरिसमा रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबिच प्रत्यक्ष वार्ता भएको हो ।

युक्रेनको पूर्वी क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि युक्रेनका सुरक्षाकर्मी र रुसको साथ पाएका बिद्रोहीबिच युद्ध हुँदै आएको छ । यसका कारण १३ हजार भन्दा बढी मानिसको ज्यान गएको छ ।

रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबिचको वार्ता फ्रान्स र जर्मनीका नेताको मध्यस्थतामा भएको हो ।

युक्रेन र रुसबिच एक अर्काले बन्धक बनाएकाहरुलाई क्रमिक रुपमा रिहा गर्ने तथा युक्रेनले तीन प्रमुख स्थानमा रहेका फ्रन्ट लाइनका सैनिकलाई फिर्ता बोलाउने सहमति भएको हो ।

सहमति अनुसार यो वर्षको अन्त्यसम्ममा दुवै देशले जारी युद्धसँग सम्बन्धी बन्दीहरुलाई रिहा गर्ने छन्।

सन २०२० को मार्च अन्त्यसम्ममा युक्रेनले तीन क्षेत्रमा रहेका सैनिक फिर्ता बोलाउने सहमति पनि भएको छ । तर ती तीन क्षेत्र कुन हुन् भन्ने खुलाइएको छैन ।

युद्धविरामका थप प्रक्रिया पूरा गर्नका लागि अबको चार महिनामा पुनः वार्ता हुने छन्।

युद्ध अन्त्यका लागि वार्ताबाट महत्वपूर्ण उपलब्धी हाँसिल भएको पत्रकार सम्मेलनमा रुसका राष्ट्रपति पुटिनले बताए । युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि सहमति महत्वपूर्ण रहेको बताएका छन् ।

रुस र युक्रेनबिच अझै पनि रुसको साथ पाएका विपक्षी लडाकुको फिर्ती तथा विखण्डनकारीको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा चुनाव गर्ने विषयमा सहमति हुन सकेको छैन ।