३० आश्विन २०८३, शुक्रबार

गौमहोत्सवले हिन्दू धर्मको रक्षाका लागि आशा जगायो : देउवा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, २२ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दू धर्म र संस्कृति सङ्कटमा परेको बताउनुभएको छ । आज पर्वतको जलजलामा आयोजित धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले हिन्दू धर्म, संस्कार, संस्कृति र परम्परा जोगाउनलाई सबैजना जुट्न आग्रह गर्नुभयो ।

गण्डकी गोपाल गौशालाले आयोजना गरेको विराट ज्ञानमहायज्ञ तथा गौमहोत्सवको चौथो दिन महोत्सव अवलोकन गर्न आउनुभएका सभापति देउवाले धर्मको रक्षा र वैदिक गाईको संरक्षणका लागि सञ्चालन गरेको गौमहोत्सवले देशभरका हिन्दुलाई नयाँ आशा जगाएको बताउनुभयो ।

उहाँले गौशालामा भौतिक पूर्वाधार निर्माण गर्न र यसलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न आफूले सरकारसँग माग गर्ने बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले जलजला, कालाञ्जर र गौशालाको विकासका लागि आयोजना गरिएको महोत्सवले हिन्दू धर्मालम्वीलाई एक ठाउँमा ल्याएको बताउनुभयो । उहाँले हिन्दू धर्मको रक्षा र संरक्षणका लागि एकताबद्ध भएर जुट्न आग्रहसमेत गर्नुभयो ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जलजला क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन लागिएको भन्दै गण्डकी गोपाल गौशालामा भौतिक पूर्वाधार निर्माण गरी धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गाउँपालिकाको तर्फबाट रु ४० लाख बराबरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । –रासस