३० आश्विन २०८३, शुक्रबार

‘कानुन निर्माण गर्दा तीन तहबीच समन्वय जरुरी’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन निर्माण गर्दा परम्परागत सोचबाट माथि उठ्नुपर्ने बताएका छन् ।

पोखरामा आयोजित अन्तर–प्रदेश सभा अनुभव आदान–प्रदान तथा अन्तक्र्रिया कार्यक्रम बोल्दै अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले नयाँ संविधानको मर्मअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

संघीयता नेपालका लागि नयाँ भएकाले अभ्यासमा केही चुनौती भएपनि तीन तहको अन्तर समन्वयबाट अगाडि बढे देशको समृद्धिको लक्ष्य हासिल हुने धारणा उनले राखे ।

अध्यक्ष तिमिल्सिनाले तीन तहको अधिकार सूची संविधानले तोकिदिएको बताउँदै अहिले देखिएका समस्या जनप्रतिनिधि तथा कर्मचारीको व्यक्तिगत स्वभाव र मानसिकताका कारण सृजना भएको बताए ।

आफ्नो तहलाई सबल बनाउन र अधिकार बढी प्राप्त गर्न खोज्नु स्वभाविक भएपनि जनप्रतिनिधिले देशको हित र विधि स्थापनाका लागि काम गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए ।

‘जनप्रतिनिधि भनेको तोकिएको अवधिसम्म सो जिम्बेवारीमा रहने हो । संविधान, कानुन वा विधि भनेको सधैका लागि हो,’ उनले भने, ‘त्यसैले नयाँ संविधानले अंगिकार गरेको परिवर्तनलाई आत्मसाथ गर्दै सरोकारवालासँग छलफल गरेर कानुन निर्माण गर्नुपर्छ ।’

राष्ट्रिय सभा प्रदेश र स्थानीय तहको सरोकार राख्ने सभा भएकाले कानुन बनाउँदा आपासी समन्वय र छलफलमा जोड दिने प्रतिवद्धता अध्यक्ष तिमिल्सिनाले व्यक्त गरे ।
उनले संघीय संसदले प्रदेश तथा स्थानीय तहसँग सम्बन्धित विधेयक आगामी अधिवेशनबाट पारित गर्ने जानकारी दिए ।

छलफल कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले तीन तहलाई सक्रिय बनाउन नसकेसम्म संघीयताको कार्यन्यन जटिल हुने बताए । उनले देश नयाँ संरचनाको अभ्यासमा भएकाले कानुन निर्माणदेखि सरकार सञ्चालनमा तीन तहबीच आपासी छलफल र समझदारी आवश्यक पर्ने धारणा राखे ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन तहबीच कानुन निर्माणमा समन्वय हुन जरुरी रहेको बताए । उनले संघीयताको कार्यन्वयन प्रदेशलाई बलियो नबनाएसम्म सम्भव नभएको बताउँदै सातै प्रदेश सरकार, संसद र अन्य निकायले सहकार्य, सहअस्तित्व र समन्वय गरी काम गर्नुपर्ने धारणा राखे ।

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले राष्ट्रिय सभा प्रदेश र स्थानीय प्रतिनिधिको पनि प्रतिनिधिमुलक सभा भएकाले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अगाडि बढ्ने बताए । उनले सात प्रदेशका सभामुख र उपसभामुखले पनि आफ्नो काममा एकरुपता दिन अनुभव आदान–प्रदान जरुरी रहेको बताए ।

कार्यक्रममा प्रदेश सभाका सभामुख तथा उपसभामुखले सभा सञ्चालन गर्दाका अभ्यास, अनुभव र चुनौतीबारे आ–आफ्नो धारणा राखेका थिए । त्यसैगरी संविधान सभा अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङले सभा सञ्चालनको अवसर, चुनौती र अनुभव बारे धारणा राखेका थिए ।

त्यस्तै, संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले सभा सञ्चालनको अनुभव बारे कार्यक्रममा बोलेका थिए । तीन दिनसम्म चल्ने कार्यक्रममा संघीय संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपाध्यक्ष दहाल, सात प्रदेशका सभामुख उपसभामुख, कर्मचारीलगायतको सहभागिता रहेको छ ।