३० आश्विन २०८३, शुक्रबार

उपप्रधानमन्त्रीसँग पोखरेलसँग ईन्डाे प्यासिफिकका सहायक रक्षा सचिवद्धारा भेटवार्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग मंसिर १९ गते उनकै कार्यकक्षमा संयुक्त राज्य अमेरिकाका ईन्डाे प्यासिफिक सुरक्षा मािमला  हेर्ने सहायक रक्षा सचिव राण्डल जि. स्क्राइवरले शिष्टाचार भेट गरे ।

भेटका अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले संयुक्त राज्य अमेरिका र नेपालबीच लामो समयदेखि असल र मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको कुरा उल्लेख गर्दै नेपालको आर्थिक र सामाजिक विकासमा अमेरिकी सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

उनले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहेको चर्चा गर्दै यो सम्बन्ध दुई देशका सरकार एवम् जनस्तरमा समेत विस्तारित भएको कुरा व्यक्त गरे । उनले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ट र फलदायी बनाउन निरन्तर उच्चस्तरमा राजनीतिक संवाद भइरहनु आवश्यक भएको कुरा औँल्याए ।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्रीले नेपाल आफ्नो विशिष्टतामा आधारित हुँदै आफ्ना सबै छिमेकी र मित्र देशहरूसँगको सम्बन्धलाई अगाडि बढाउन चाहन्छ भने । उनले मित्र राष्ट्रहरूले नेपाललाई आफ्नै आँखाले हेर्ने गरेकोमा नेपाल खुशी व्यक्त गर्दछ भने ।

उनले नेपाललाई विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराउन लागेकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै नेपाली सेनाको क्षमता विस्तार एवम् मानवीय सहायता तथा विपद् व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण एवम् सहायता उपलब्ध गराई नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा धन्यवाद ज्ञापन गरे ।

माननीय उपप्रधानमन्त्रीले शान्ति सेनामा खटिने नेपाली सेनालाई र्पुयाएको सहयोग र पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई सुदृढ तुल्याउन उपलब्ध गराएको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुहुँदै यस्तो सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गरे ।

भेटवार्ताका क्रममा  सहायक रक्षा सचिव राण्डल जि. स्क्राइवरले नेपाल र संयुक्त राज्य अमेरिकाबीच सदैव मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहँदै आएको चर्चा गर्नुहुँदै संयुक्त राज्य अमेरिकाले साना ठूला सबै राष्ट्रको सार्वभौमसत्तालाई उच्च सम्मान गर्दै आइरहेको विचार व्यक्त गरे । उनले संयुक्त राज्य अमेरिकाले नेपाललाई समृद्ध, सुखी र शान्तिपूर्ण मुलुकको रूपमा विकास भएको हेर्न चाहन्छ भने ।

उनले नेपाल सरकार र नेपाली सेनाले संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा पुर्याउँदै आएको योगदानलाई प्रशंसा गर्दै अमेरिकी सरकारले यसको उच्च मूल्यांकन गरेको विचार व्यक्त गर्नुभयो ।

उनले दुई देशको सरकार र सेनाबीच अत्यन्त हार्दिक र सहयोगात्मक सम्बन्ध रहेको चर्चा गर्दै नेपाली सेनाको क्षमता विकासमा सहयोग गर्न संयुक्त राज्य अमेरिका सदैव सकारात्मक रहेको विचार व्यक्त गरे ।

भेटका अवसरमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत महामहिम डा. अर्जुन कार्की, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत Randy W. Berry सहित अमेरिकी राजदूतावासका सुरक्षा अधिकारीहरू तथा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च प्रतिनिधिहरूको उपस्थिति थियो ।

वुधबार दिउँसो सहायक रक्षा सचिव राण्डल जि. स्क्राइवरलेले रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डेसँग समेत शिष्टाचार भेटघाट गरे । भेटका अवसरमा द्विपक्षीय हित र दुई देशका सेनाबीचको सहयोगात्मक सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जाने विषयमा छलफल भएको थियो ।