
काठमाडौँ, १७ मंसिर । शारीरिकरूपमा अशक्त व्यक्तिहरुले नयाँ निर्माण गरिने भौतिक संरचना अपाङ्गमैत्री गरिदिन आग्रह गरेका छन् । मंगलबार यहाँ २८ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता संरक्षण नेपालले आयोजना गरेको कार्यक्रममा यस किसिमको धारणा व्यक्त गरेका हुन् ।
कार्यक्रममा शारीरिकरूपमा अशक्त शर्मिला भट्टराईले संविधानमा व्यवस्था भएअनुसारको व्यवस्था व्यवहारमा लागू नभएको गुनासो गर्दै रोजगारी पनि सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो । भट्टराईले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको हक, हित र अधिकारका विषयमा वकालत तथा पैरवी गर्न सबै अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष विरोध खतिवडाले ग्रामीण भेगमा रहेका यस समूहका मानिसले अत्यावश्यकरूपमा रहेको सेतो छडीसमेत नपाएकाले सबैमा पुुु¥याउने तयारी रहेको बताउनुभयो । कार्यक्रममा संस्थाले करिब सय जनालाई सेतो छडी र अध्ययन सामग्री वितरण गरेको थियो ।
शिक्षा, स्वास्थ्य, रोजगारलगायतका विषयमा अपाङ्गता भएका व्यक्तिको स्थान अझै पनि नगन्य मात्रामा रहेको भन्दै अपाङ्गमैत्री नहुँदा सरकारी कार्यालय नै प्रयोगविहीन हुनपरेको सहभागीहरूले गुनासो गर्नुभयो ।
सहभागीहरुले एकै आवजमा सरकारले परिचयपत्र दिएर केही राहत पुगे पनि दैनिक जीवनमा अझै धेरै असहजता रहेको गुनासो गरेका थिए । –रासस















प्रतिक्रिया