सोमबार, १६ मंसिर २०७६
DainikNepal.com
सोमबार, १६ मंसिर २०७६

४४ स्थानको नतिजा, नेकपा २५ स्थानमा र काँग्रेस १२ स्थानमा विजयी

दैनिक नेपाल २०७६ मंसिर १५ गते २१:५५

काठमाडौँ, १५ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २५ स्थानमा विजय हासिल गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।

कास्की २ को प्रतिनिधिसभामा नेकपा विद्या भट्टराइ विजयी भएकी छिन् भने भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, कांग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।

स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ । -रासस

प्रतिक्रिया
सम्बन्धित