३० आश्विन २०८३, शुक्रबार

अपराध अनुसन्धानमा नेपाल प्रहरी अब्बल छ : महानिरीक्षक खनाल

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ मंसिर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान तथा नियन्त्रण गर्न नेपाल प्रहरी अब्बल रहेको धारणा व्यक्त गरेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत स्नातकोत्तर तहका विभिन्न संकायका विद्यार्थीहरुबीच आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा महानिरीक्षक खनालले उक्त धारणा व्यक्त गरेका हुन् ।

राज्यको अग्रपंक्तिमा रहेर कानून कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरीका जिम्मेवारीमध्ये अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा लगायत रहेको बताउँदै प्रहरी महानिरीक्षक खनालले अपराध नियन्त्रण गर्नका लागि प्रविधिको साथसाथै प्रहरीको उपस्थिति अपरिहार्य रहेको बताए ।

सीमावार्ती अपराध, लागूऔषध, साइबर अपराध तथा सामाजिक संजालको दुरुपयोग जस्ता गतिविधिहरु अहिलेको चुनौतिको रुपमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले त्यस्ता अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्व रहने उल्लेख गरे ।

प्रहरी महानिरीक्षक खनालले सांगठनिक परिचय, विद्यमान चुनौतीहरू, संस्थागत सुधारका प्रयासहरू, समुदाय प्रहरी साझेदारी, संस्थागत साझेदारीका सम्भाव्यताहरू लगायतका विषयमा प्रस्तुतीकरण गर्दै नेपाल प्रहरीले विगतमा गरेका विभिन्न समुदाय लक्षित कार्यक्रमहरु भन्दा फरक रुपमा समुदाय प्रहरी साझेदारीको अवधारणा अनुरुप १२ वटा प्राथमिकताका विषयहरु तय गरी कार्यक्रम संचालन गरिएको बताए । साथै संगठन सुधारका लागि प्रहरी महानिरीक्षकले तय गरेका १० वटा प्राथमिकताहरुका सम्बन्धमा समेत उनले प्रकाश पारे ।

सीमित साधन श्रोत तथा जनशक्तिको उपलब्धतामा प्रहरीले पूर्ण लगावकासाथ सम्पादन गरेका कार्यप्रति समाजको दृष्टिकोणमा पनि सही बुझाई हुनुपर्ने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘नेपाल प्रहरी हामी सबैको प्रहरी हो, यसको काम, कर्तव्य तथा प्रदान गर्ने सेवा लगायत विविध बिषय सो अवधारणामा समेटिएको छ ।’

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले विद्यार्थीहरुको जिज्ञासाहरुको निरुपण गर्दै विगतको भन्दा बोली, वचन र व्यवहारमा परिस्कृत भई थप उत्कृष्ट नागरिक केन्द्रीत सेवा प्रदान गर्ने बताए ।

समुदायको सूचनाको महत्व र यसले अपराध नियन्त्रणमा खेलेको भूमिकाको सराहना गर्दै उनले शंकास्पद गतिविधि देखेमा प्रहरीलाई तत्कालै खबर गर्न समेत उपस्थित विद्यार्थीहरुलाई आग्रह गरे ।

सुरक्षा जहाँ हुन्छ त्यहाँ विकासका गतिविधि चलायमान हुने बताउँदै प्रहरी महानिरीक्षक खनालले भयरहित समाज निर्माण तथा विकासका गतिविधिलाई अगाडि लैजान सबै समुदायबीच मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा सहभागी विद्यार्थीहरुले शान्ति सुरक्षा, प्रहरीको कार्य, ट्राफिक व्यवस्थापन लगायतका विषयमा विविध जिज्ञासा राखेका थिए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री, त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका प्रमुखहरु लगायत प्रहरी वरिष्ठ अधिकृतहरुको समेत सहभागिता रहेको थियो ।