
भक्तपुर, ११ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तिम चुनावीसभा आज सम्पन्न गरेको छ । यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको प्रचारस्वरुप आज नेकपाले चाँगुनारायणको नारायणटारमा आयोजना गरेको चुनावीसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य एवं पूर्वपर्यटनमन्त्री आनन्द पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभिभारा पूरा गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताउनुभयो ।
उहाँले वर्तमान सरकारले देशको सीमाको रक्षा गर्ने, भूमि फिर्ता गर्नेदेखि देशलाई आर्थिक समृद्धिमा लगेर जनताको दुःखलाई सुखमा परिणत गर्नेमा द्विविधा नपाल्न आग्रह गर्नुभयो ।
उहाँले जनता सुखी भए देश सुखी हुने बताउँदै जनताको चाहना र विकासलाई वर्तमान सरकारले पूरा गर्ने भएकाले नेकपाका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुर क्षेत्र नं २ ले विकासको गतिमा तीव्रता लिएकाले अब क्षेत्र नं १ ले विकासको दौडमा लम्कने भनाइ राख्नुभयो ।
समृद्ध नेपाल बनाउन र हरिशरण लामिछानेको सपना साकार पार्न नेकपाले डिपी ढकाललाई उम्मेदवार बनाएको उल्लेख गर्दै उहाँले भक्तपुरको विकास गर्न सक्ने युवालाई उपनिर्वाचनमा उम्मेदवार बनाएको बताउनुभयो ।
कार्यक्रममा नेकपाका उम्मेदवार ढकालले भक्तपुर क्षेत्र नं १ विकास भएन भनेर चिन्ता नगर्न आग्रह गर्दै उहाँले आफू विजयी भएलगत्तै तीन वर्षमा चाँगुनारायणका प्रत्येक सडक कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले चाँगुनारायण क्षेत्रको मुहार फेर्न पार्टीले आफूलाई पठाएकाले जनताको साथ र मतले अगाडि बढ्ने भनाइ राख्नुभयो ।
त्यसैगरी राप्रपा संयुक्तका केन्द्रीय सदस्य सुरेन्द्र केसीले नेकपा मात्रै देशको विकास गर्न सक्ने शक्ति देखेकाले भक्तपुरमा यसपालिको निर्वाचनमा राप्रपा संयुक्तले नेकपालाई सघाउने भनाइ राख्नुभयो ।
त्यस अवसरमा प्रदेश सभा सदस्य शशीजङ्ग थापा, नेकपाका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, नेकपाका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, नेकपा अध्यक्ष बचन देउजा लगायतले नेकपामा प्रवेश गर्नेको लर्को लागेकाले नेकपा अझै शक्तिशाली पार्टी बन्दै गएको दाबी गर्नुभयो ।
सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १४५ ले नेकपामा प्रवेश गरेका थिए । –रासस















प्रतिक्रिया