
बाँके, ११ मंसिर । स्थानीय तहको उपनिर्वाचन हुन तीन दिनमात्रै बाँकी हुँदा बाँकेको कोहलपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कोहलपुर नगरपालिका–६ को उपनिर्वाचनलाई लक्ष्य गरेर सुरक्षा सर्तकता बढाइएको प्रहरीले जनाएको छ ।
उपनिर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले वडा नं–६ मा र वडा नं ५ मा अस्थायी सुरक्षा शिविर राखेर सुरक्षा व्यवस्था कडा पारिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।
“आसन्न निर्वाचनलाई लक्षित गरेर व्यापक मात्रामा प्रहरी जनशक्ति थपिएको अवस्था छ”, उहाँले भन्नुभयो, “प्रहरी बिट मात्र रहेको वडा नं–६ मा अहिले पहिलो चरणमा २५ जना प्रहरी परिचालन गरेका छौं ।”
उपनिर्वाचनलाई शान्तिपूर्ण र मर्या्दितरुपमा सम्पन्न गर्न कोहलपुर प्रहरीले थप मद्दत सुरक्षाकर्मी माग गरेर परिचालन गरेको हो । “केही दिनमा नै थप २५ जना प्रहरी पठाउन लागेका छौं”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “निर्वाचनका दिन थप सुरक्षाकर्मी खटाउने तयारी छ ।”
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पैदल तथा गाडी दुवैको माध्यमबाट गस्ती बढाएका छन् । “निर्वाचन हुन गइरहेको वडा नं–६ र निर्वाचनको लागि मतदानस्थल रहेको वडा नं–५ मा समेत २४ सैं घण्टा सुरक्षाकर्मी परिचालित भइसकेको अवस्था छ”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो ।
निर्वाचनका अवधिभर उम्मेदवार, उम्मेद्वारको घर, प्रचारप्रसारका लागि राखिएका सम्पर्क कार्यालय, प्रचार अभियान तथा दलका पार्टी कार्यालयको प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन अवधिका लागि हामीले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएका छौँ, यसका लागि म आफैँ फिल्डमा खटिरहेको छु ।” अन्य सुरक्षा निकाय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समवन्य गरेर सुरक्षाको व्यवस्था मिलाउने गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो ।
“शान्तिपूर्ण तथा भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गराउन सबै सुरक्षा निकायका लागि परेका छौँ, ढुक्कसँग मतदान गरे हुन्छ, डराउनुपर्ने कुनै अवस्था छैन”, उहाँले भन्नुभयो ।
नेत्रविक्रम चन्द नेतृत्व समुहको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने घोषणा गरेकाले सुरक्षा निकायहरुले विप्लव समूहलाई नै मुख्य सुरक्षा चुनौती ठानेका छन् । कोहलपुरमा पनि सोही अनुसार प्रहरीले सुरक्षा रणनीति बनाएर लागू गरेको छ ।
“हामीले बाँकेमा मात्रै सो समूहका धेरै नेता–कार्यकर्ता पक्राउ गरिसकेका छौँ”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “निर्वाचनलाई असर पार्ने बम विस्फोटलगायत घटना गराउने अवस्था अहिले छैन ।” सुरक्षा व्यवस्था नियन्त्रणभन्दा बाहिर नजाने कोहलपुर प्रहरीले अनुमान गरेको छ ।
“अहिले हाम्रो धेरै ध्यान उपनिर्वाचनमा नै केन्द्रित भएको छ”, प्रहरी नायब उपरीक्षक शाहीले भन्नुभयो, “विप्लव समूहले निर्वाचन विरुद्धका गतिविधि गर्न सक्ने जानकारी पाएका छौं । त्यसैले त्यहाँबाट गोप्य रुपमा सूचना सङ्कलनको लागि प्रहरी परिचालन भइसकेका छन् ।”
निर्वाचनस्थल र आसपासका क्षेत्रमा २४ सैं घण्टा हतियारसहितका सुरक्षाकर्मीले गस्ती गर्नेछन् । निर्वाचनका समयमा तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । योजना अनुसार निर्वाचनको दिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा गर्ने गरी व्यवस्था मिलाइएको छ । –रासस















प्रतिक्रिया