२९ आश्विन २०८३, बिहिबार

बालगृहमा देखिएका विकृति हटाउने : मन्त्री गुरुङ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० मंसिर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालगृहमा देखिएका विकृति अनुगमन गरेर हल गर्ने बताउनुभएको छ । राष्ट्रिय बाल अधिकार परिषद्मा आज परिषद्को अध्यक्षका रूपमा मन्त्री गुरुङले पदबहाली ग्रहण गर्दै भन्नुभयो, “सडकमा अब कुनै बेवारिसे बालबालिका देखिने छैनन् ।”

मुलुकमा थप सक्षम जनशक्ति निर्माण गर्न सडक बालबालिकाको उत्थानमा सरकार दृढ रहेको भन्दै मन्त्री गुरुङले परिषद्लाई थप प्रभावकारी बनाउने काममा आफू कटिबद्ध रहेको बताउनुभयो ।

परिषद्का प्रशासकीय प्रमुख कृष्णप्रसाद भुसालले चालू आवमा परिषद्ले २०० बढी बालबालिकाको उद्धार गरेर परिवार हुनेलाई परिवारमा र नहुनेलाई बालगृहमा राखेको जानकारी दिनुभयो ।

बाल सुधारगृहमा ८०० बढी बालबालिका राख्न बाध्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाल मुलुकमा जम्मा आठ वटा बालसुधार गृह रहेका छन् । यसमध्ये कास्की, डोटी र भक्तपुरमा रहेका बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका राख्नुपरिरहेको छ ।”

परिषद्का सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठले शैक्षिक क्षेत्रमा बालबालिकाको अवस्था निकै अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्र र होटल व्यवसायमा लागेका बालबालिका बढीजसो यौन हिंसामा परिरहेका देखियो ।” परिषद्ले गत आवमा एक हजार ११ जना बालबालिका उद्धार गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री गुरुङले आगामी पाँचवर्षे रणनीतिक योजनाका कार्य्दिशामा हस्ताक्षर गर्नुभयो । –रासस