२९ आश्विन २०८३, बिहिबार

भ्रमण वर्षको शुभारम्भ सातै प्रदेशबाट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ मङ्सिर । नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख(पुस १६)मा काठमाडाैँस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौँ बैठकमा सम्बोधन गर्दै यसैगरी मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताउनुभयो । एक हप्ताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताउनुभयो । ‘‘हामी पनि हाम्रो प्रदेशमा भएका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकलाई आफ्नो प्रदेशमा ल्याउने छाैँ’’, उहाँले भन्नुभयो, ‘‘सङ्घले पनि भ्रमण वर्षलाई सफल बनाउनका लागि प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।’’

कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटनसँग सम्बन्धित कार्यक्रम आफूहरुले सञ्चालन गरिसकेको भन्दै भ्रमण वर्ष लक्षित कार्यक्रम सङ्घ सरकारको समन्वयमा गरिने बताउनुभयो । कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा पर्यटक बढाउनका आकर्षित गरिरहेको बताउनुभयो ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरराष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि दुई मिनेट भ्रमण वर्षबारे जिङ्गल बनाइने तयारी गरिएको बताउनुभयो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भ्रमणलाई लक्ष्य गरेर आठ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रमण वर्षमा सुरक्षालाई मजबुत गरिने बताउनुभयो ।

गैरनेपाली आवासीय सङ्घका अध्यक्ष कुमार पन्तले भ्रमण वर्षको अवसरमा डिसेम्बर ३१ र जनवरी १ तारिखमा ८३ देशमा साइकल र कार ¥याली गरिने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लागिरहेको बताउनुभयो ।

कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सबै नेपालीलाई भ्रमण वर्षमा आबद्ध गराइने बताउनुभयो । उहाँले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने समेत जानकारी दिनुभयो ।

उहाँले सबै नेपालीलाई प्रतिबद्धता गराएर नेपाल घुम्न आग्रह गरिने बताउनुभयो । ‘‘नेपालको खाली नक्शामा आफू कहाँ जाने भनेर सबैलाई हस्ताक्षर गरेर भर्न लगाउछौँ’’, उहाँले भन्नुभयो, ‘‘अनि प्रतिबद्धता गरेअनुसारका ठाउँमा घुम्न आग्रह गर्छौँ ।’’