सोमबार, ९ मंसिर २०७६
DainikNepal.com
सोमबार, ९ मंसिर २०७६

पर्यटन व्यवसायी कार्कीद्वारा जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग

दैनिक नेपाल २०७६ मंसिर ९ गते १४:५१

काठमाडौँ, ९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् ।

आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुबाआमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेको कार्कीले बताए,’ उनको पढाई र इमान्दारिता हेरेर आवश्यकताअनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।’

पर्यटन व्यवसायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आआफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

मुलुकको समृद्धिको मुख्य आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै उनले बाह्य मात्रै नभएर आन्तरिक पर्यटन प्रवद्र्धन मार्फत स्थानीय उत्पादनको सदुपयोग गरेर आम्दानी बढाउनुका साथै रोजगारी सिर्जना गर्ने तथा राज्यलाई आवश्यक पूर्वाधार निर्माणमा सकारात्मक दवाव सिर्जना गर्न सकिने बताए ।

त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकतासमेत उनले औंल्याए ।

सोहि अवसरमा नेपाली कांग्रेस महासमिति सदस्य तथा सोलुखुम्बुका नेता राम बहादुर बस्नेतले विशेष गरि सोलुखुम्बुमा भएको भ्रस्टाचारलाइ संचार माध्यमले उजागर गर्दै सुसुचित गर्नु पर्ने र सोलुखुम्बुलाइ भ्रमण वर्ष २०२० को प्रमुख गन्तव्य बनाउन सोलुखुम्बुका संचारकर्मीले महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौँ आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित