सोमबार, ९ मंसिर २०७६
DainikNepal.com
सोमबार, ९ मंसिर २०७६

पाँचौँ राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालन हुँदै

दैनिक नेपाल २०७६ मंसिर ९ गते १४:३२

फाइल तस्वीर

काठमाडौँ, ९ मंसिर । मन्त्रालयले दादुरा रुवेला रोग निवारण गर्न अगामी फागुन र चैत महिनामा पाँचाँै राष्ट्रिय दादुरा रुवेला खोप अभियान सञ्चालनको तयारी गरेको छ । अगामी फागुन १ देखि ३० गते र चैत १ देखि ३० गतेसम्म गरी दुई चरणमा सो अभियान सञ्चालन हुने छ ।

यसअघि मन्त्रालयले सन् २००४, २००८, २०१२ र २०१६ मा यस्ता अभियान सञ्चालन गरेको थियो । ५ वर्षमुनिका बालबालिकाको मृत्युको मुख्य कारकमध्ये दादुरा रोगलाई मानिन्छ । यस रोगलाई निवारण गर्न यस विरुद्धको खोप आवश्यक मानिन्छ ।

पहिलो चरणमा प्रदेश नं १, २, ५ र दोस्रो चरणमा प्रदेश नं ३, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशमा खोप अभियान सञ्चालन हुनेछ । बालस्वास्थ्य तथा खोप सेवा शाखाका निर्देशक डा झलक शर्माले ती दुवै अभियानमा करिब ३० लाख बालबालिकलाई दादुरा रुवेला विरुद्धका खोप लगाइनेछ ।

साथै तराई मधेशका १९ जिल्लाका १५ लाख जन्मेदेखि ५ वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाइने छ । संविधानमा खोप पाउने बालअधिकारभित्र रहेको छ । साथै खोप ऐनले समेत यस अधिकारलाई थप सुनिश्चित गरेको छ ।

देशका ५८ जिल्ला पूर्णखोप जिल्ला घोषित भइसकेका छन् । सन् २०१६ को स्वास्थ्य तथा जनसाङ्ख्यिक सर्वेक्षणका अनुसार खोपको पुहँचमा नआएको ५ वर्षमुनिका बालबालिकाको सङ्ख्या एक प्रतिशत रहेको छ । यसैगरी पूर्ण खोप नपाउने बालबालिका २१ प्रतिशत रहेका छन् ।

गर्भवती आमा, जन्मने बित्तिकै र ५ वर्षमुनिका बालबालिकालाई हाल ११ प्रकारका खोप विभिन्न रोगका विरुद्ध निःशुल्क रुपमा लगाउने गरिन्छ । सन् २०१४ मा नेपालबाट पोलियो रोग निवारण भएको घोषणा गरिएको थियो ।

खोप राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको छ । क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुवेला, न्युमोकोकस र जापानिज इन्सेफ्लाइटिसविरुद्ध बालबालिकालाई खोप तथा गर्भवतीलाई धनुष्टङ्कार र भ्याकुते रोगविरुद्ध खोप लगाइन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित