
महोत्तरी, ८ मंसिर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ स्थित रामनगरबाट एपीएफ टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्टस् एक जनालाई शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् ।
गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज कामीलाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।
त्यसैगरी, झापाको मेचीनगर नगरपालिका १२ स्थित चारआलीबाट मंसीर ८ गते एपीएफ टोलीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मदिरा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको उक्त मदिरा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरको हो । बरामद मदिरा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
त्यस्तै, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट मंसिर ८ गते एपीएफ टोलीले करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा तथा मेशिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।
यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले मंसीर ८ गते करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जनाएका छन् ।















प्रतिक्रिया