आइतबार, ८ मंसिर २०७६
DainikNepal.com
आइतबार, ८ मंसिर २०७६

दुई स्वधीनता सेनानीको सालिक अनावरण

दैनिक नेपाल २०७६ मंसिर ८ गते १५:२८

खरसाङ, ८ मंसिर । सय वर्षअघि प्रकाशित भएको नेपाली उपन्यास ‘महाकाल जासुस’ कसरी हरायो त्यो एउटा रहस्य नै रहेको छ । कुनै कारणवश हराएकै हो या त प्रकाशित भएपछि बजारबाट कसैले सबै प्रति उठाएको हुनसक्छ यसबारे केही पनि स्पष्ट छैन । ‘महाकाल जासुस’ का लेखक प्रतिमानसिंह लामा साधरण व्यक्ति थिएनन् ।

उनी भारतीय स्वाधीनता संग्रामका स्वाधीनता सेनानी साथै दार्जिलिङ भेकका राजनीतिज्ञ थिए । खरसाङको गोर्खा जातीय विभूति उद्यानमा उनको सालिक शनिबार २३ नोभेम्बरको दिन जीटीएका अध्यक्ष अनित थापाले अनावरण गरे । यी स्वाधीनता सेनानी प्रतिमानसिंह लामाको सालिक भारतमा पहिलोपल्ट खरसाङ नगरपालिकाको पहलमा स्थापना भएको हो ।

उनी खरसाङ नगरपालिकाका नगर आयुक्त पनि थिए । शनिबारको दिन खरसाङको नयाँ बजारमा अर्का स्वाधीनता सेनानी कप्तान रामसिंह ठकुरीको सालिक पनि अनावरण गरियो । यी दुवैवटा सालिग प्रतिमानसिंह लामा सालिग निर्माण समितिद्वारा स्थापना गरिएको हो ।

स्वाधीनता सेनानी कप्तान रामसिंह ठकुरीको सालिक भारतका विभिन्न नेपाली बहुल ठाउककंहरूमा राखिएको छ । नेता सुवास चन्द्र बोसका आजाद हिन्द फौजका एकजना प्रमुख सेनानी रहेका कप्तान रामसिंह ठकुरी सुपरिचित स्वाधीनता सेनानी हुन् । कप्तान रामसिंह ठकुरीले आजाद हिन्द फौजमा स्वाधीनता संग्रामका गीतहरुमा संगीत भरेका थिए ।

प्रतिमानसिंह लामालाई आधिकारिक रूपमा स्वाधीनता सेनानी घोषित गराउने कार्य अझ पुरा हुन सकेको छैन । उनलाई सरकारद्वारा आधिकारिक रूपमा स्वाधीनता सेनानी घोषित गराउनका निम्ति सालिक स्थापना एउटा महत्वपूर्ण पहल हो ।

सालिक निर्माण समितिका सचिव श्रीमती आशा मुखिया लामाद्वारा संचालन गरिएको कार्यक्रममा स्वागत भाषण गोर्खा जन पुस्तकालयका अध्यक्ष पूर्ण गुरूङ निरूपमले राखेका थिए ।

यसै कार्यक्रममा खरसाङमा ब्याङ्क डाँडादेखि स्नोभ्यूसम्म जाने बाटोको नाम कप्तान रामसिंह ठकुरी पथ राखिएको छ । यसका साथै उनकै सालिक भएको ठाउककंमा नागरिक विश्राम गृह पनि उद्घाटन गरिएको छ ।

सालिक निर्माण समिति एवं खरसाङ नगरपालिकाका अध्यक्ष कृष्ण लिम्बुले भने, ‘‘सालिक निर्माणको कार्य छोटो समयमा सबैको सहयोग र भगवानको कृपाले सफलतापूर्वक सम्पन्न भएको हो । यस कार्यमा सम्पूर्ण नगरपार्षदहरू अनि सालिग निर्माण समितिका सदस्यहरूले पूर्ण सहयोग गरेका छन् । जसको कारणले ६ महिनामा कार्य सफल हुनसक्यो ।’

दुवै स्वाधीनता सेनानीको सालिग स्थापना गरेर खरसाङले महत्वपूर्ण कार्य गरेको बताउँदै यसलाई सुरक्षित र सम्मानपूर्वक राख्नुपर्ने कुरा सुपरिचित साहित्यकार नरबहादुर दहालले बताए ।

प्रतिमानसिंह लामा बारेमा खोजपूर्ण लेखहरू प्रस्तुत गर्ने सुपरिचित लेखक जी.बी. बलले भने, ‘‘प्रतिमानसिंह लामा बाल्यकालदेखि नै तिक्ष्ण बुद्धिका थिए । उनले त्यससमय केएफसी पास गरेका थिए । त्यससमयको केएफसी अहिलेको आईएफएस समान हो ।

केएफसी पास गरे तापनि ब्रिटिशहरूले उनलाई रेन्जरको पदमा नियुक्ति प्रदान गरेको थियो पछिबाट उनले डीएफओ पद प्राप्त गरेका थिए । यहाँका मानिसहरूको आँखा खोल्न, बाटो देखाउन उनी नोकरी छोडेर राजनीतिमा आउनु महत्वपूर्ण विषय थियो ।’

यसै वर्ष १४ जूनको दिन प्रतिमानसिंह लामाको १२९ औँ जन्मजयन्तीको अवसरमा सालिकको आधारशीला राखिएको थियो । दुवै सालिक सुपरिचित कलाकार अमिर सुन्दासले बनाएका हुन् ।

प्रतिमानसिंह लामाका नाती जितेन्द्र लामाले पावर पोइन्टबाट प्रतिमानसिंह लामाको वृतचित्र प्रस्तुत गरे । उल्लेखनीय छ भारतीय नेपाली साहित्यमा ‘महाकाल जासुस’ लाई प्रथम मौलिक उपन्यासको रूपमा मानिँदै आइएको छ । यो उपन्यास आजभन्दा सय वर्ष अघि १९१९ सालमा प्रकाशित भएको थियो ।

१९१९ सालमा प्रकाशित पत्रिका ‘चन्द्रिका’मा यस पुस्तकको विज्ञापन प्रकाशित भएको थियो । यो उपन्यास अहिले पनि निक्कै चर्चामा रहेको छ । तर, गएको केही वर्षदेखि यस पुस्तकको बारेमा खोजी गर्दा कहीँ कतै पनि भेटाउन सकिएको छैन ।

पुराना मानिसहरु कतिले पढे तर कुरा खासै खुलाएनन् भन्ने पनि छ । यो प्रतिवेदकले पनि ‘महाकाल जासुस’ पुस्तक पढ्ने व्यक्ति भेटाउन सकेको छैन । पुस्तक कुन विषयमा लेखिएको थियो खुल्दुली त्यसैको हो ।

प्रतिक्रिया
सम्बन्धित