
धादिङ, ७ मंसिर । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालमाथि वडाध्यक्षद्धारा अन्दाधुन्द कुटपिट भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा मोटरसाइकल लिएर पुगेका नीलकण्ठ नगरपालिका वडा नं.१ का वडा अध्यक्ष गणेश गुरुङ र नीलकण्ठ नगरपालिका–१ निवासी ध्वजबहादुर गुरुङले एक्कासी नेपालको निवासमै गएर हातपात गरेका हुन् ।
उनीहरुले मोटरसाइकल रोकेर अन्दाधुन्द कुटपिट गरेको पीडित जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।
समन्वय प्रमुख नेपाल निवासबाट निस्कनै लाग्दा ढोकैमा पुगेका उनीहरू दुवैजनाले एक्कासी मुक्का बर्साउँदै कुटपिट गरेको र आफूले गुहार मागेपछि नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना घटनास्थल पुगेका थिए ।
नगर प्रमुख ढुंगाना घटनास्थल पुगेपश्चात् भने दुवैजना मोटरसाइकल लिएर भागेको नेपालले बताए । समन्वय प्रमुख नेपालले वडाअध्यक्षले बिना कारण आफूमाथि कुटपिट गरेकोले अपराधीलाई कारवाही गर्न माग समेत गरेका छन् ।
यता समन्वय प्रमुख नेपालसँग विविध विषयमा सल्लाह लिन नेपालको कार्यालय स्थित निवासमा जाँदै गर्दा नेपालले गुहारगुहार भनेर चिच्चाएपछि निवासकै तल्लो तलामा पुगेका नगर प्रमुख भीम ढुङ्गना लगायतका नेताहरु शर्माको कोठामा पुगेका थिए । ढुङ्गाना समेतको टोली उक्त स्थानमा पुग्ने बित्तिकै वडाध्यक्ष र अर्का युवा मोटर साइकल चढेर भागेको ढुङ्गानाले बताए ।
हामी जाँदा नेपाल माथी लम्की झम्की गर्दै मुक्का बर्साईरहेका थिए । हामीलाई देख्नासाथ दुवै भागे, नगर प्रमुख ढुङ्गनाले भने । हातपात गरेपछी वडाध्यक्ष र अर्का युवा मोटर साइकल चढेर भागेका थिए । घटनापछि पटकपटक पीडक वडाध्यक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको मोबाइल स्वीचअफ गरिएको छ, ढुङ्गनाले भने ।
पछिल्लो समय जिल्ला समन्वय समितिले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद र समन्वय प्रमुख नेपालसँग वडाध्यक्ष गुरूङको भने मनमुटाब समेत बढेको थियो ।
यद्यपी वडाध्यक्ष गुरुङले आफुसँग त्यस विषयमा छलफल नै नभइ एक्कासी कुटपिटमा उत्रिएकोले गुण्डा गर्दी र अराजक शैली भएको नेपालले बताए ।
यता आफ्ना नेता तथा जिल्ला समन्वय समिती प्रमुख जस्तो गरिमामय पदमा आसिन व्यक्तिलाई योजनावद्ध रुपमा आक्रमण गरिएकोले आक्रमणकारीलाई कारवाहीको माग गर्दै शनिबार युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्रराज पौडले मार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्र समेत बुझाएको छ । आक्रमणबाट सामान्य घाइते भएका जिसस प्रमुख नेपालले घटनाबारे तुरुन्तै प्रहरीलाई जानाकारी गराएका छन् ।
उता आक्रमणबारे लिखित उजुरी नदिएपनि आक्रमणकारीलाई राज्यको निकायले कारवाही गर्ने र आक्रमणकारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार वैदवारले समेत बताए ।
समन्वय प्रमुख नेपाल जिल्ला समन्वय समितिको कार्यालयमै बस्दै आएका छन् । यद्यपी समन्वय प्रमुख नेपाल र वडाध्यक्ष गुरुङ दुवै तत्कालीन नेकपा एमाले पार्टीबाटै निर्वा्चित जनप्रतिनिधि हुन् ।















प्रतिक्रिया