
काठमाडौं, ७ मंसिर । कोशी राजमार्गको सडक विस्तारको काम चलिरहेको छ । दायाँ बायाँ ८२ फिट बाटो बनाउनुपर्ने विस्तारअघिकै सरकारी योजना हो ।
तर मुख्य बजार तथा सहरी क्षेत्रमा यसरी विस्तार गर्न बाधा पुगिरहेको छ । कोशी राजमार्ग विराटनगर, इटहरी, धरान हुँदै पूर्वी पहाडी जिल्लाबाट चीनको किमानथांकासम्म जोडिने सडक हो । जसले चीनसँगको सिधा सम्पर्कमा सहज हुने निश्चितप्राय छ ।
सडक विस्तारका क्रममा इटहरीमा बाधा पुगेको छ । नियमत ८२ फिट छाड्नुपर्ने भए पनि केही व्यापारी र नेताको प्रभावमा ६५ फिट मात्र विस्तार गर्ने काम भएपछि यसको विरोध भयो ।
इटहरी उपमहानगरपालिका पनि विवादमा तानियो । स्थानीय कांग्रेस नेता रोहित प्रसाई (उपमहानगरमा नेपाली कांग्रेसबाट पराजित मेयरका उम्मेदवार)को हात रहेको उपमेयर लक्ष्मी गौतमको ठाडो आरोप थियो ।
यो विवाद निक्कै चर्कियो । त्यसपछि बन्यो सडक चौडा पार्नका लागि संघर्ष समिति । त्यसका संयोजक हुन्, नेकपा सुनसरी जिल्ला सदस्य तथा तत्कालिन अनेरास्ववियु क्रान्तिकारीका नेता मदन चुडाल ।
यस विषयमा सडक विभागका सम्बन्धित कार्यालय, उपमहानगरपालिकामा समितिले ज्ञापनपत्र बुझायो । आखिर किन भइरहेको छ, यो विवाद ? यसको समाधान कसरी हुन्छ त ? चुडाल भन्छन्,‘नियमअनुसार नै सडक विस्तार गरे कुनै विवाद छैन । केही व्यक्ति र मानिसको स्वार्थका आधारमा विकासको काम रोकिनु हुन्न भन्ने हाम्रो माग हो ।’
कोसी राजमार्गको दिर्घकालिन विकासका लागि मात्र होइन, चीनसँग सडकनाता जोड्ने मुलुकको विकासको योजना सहरका नाममा रोक्न हुन्न भन्ने मान्यता राख्छन् चुडाल । ‘आजका लागि कसैलाई समस्या पर्ला, त्यसको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गरी सहरको भविष्यलाई पनि हेर्नुपर्ने हुन्छ ।’
सडक विस्तारको कामले सहरको रुप पनि फेरिने पक्कापक्की छ । साँघुरो बजार क्षेत्रको मुख्य सडक फराकिलो देखिने छ र त्यसले सहरको मानक राख्ने कुरामा चुडाल विश्वस्त छन् । यसको प्रक्रिया प्रभावकारी भइसकेको छ । स्थानीय सरकारको हैसियतले संघर्ष समितिको ज्ञापन पाउनासाथ उपमहानगरले सडक विभागसँग योजनासहितका कागजपत्र माग गरिसकेको छ ।












प्रतिक्रिया