२९ आश्विन २०८३, बिहिबार

पीडितलाई न्याय दिन ढिलाइ गर्ने पक्षमा छैन : प्रचण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पुर्याउने बताउनुभएको छ ।

द्वन्द्वपीडित साझा चौतारीले आज विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले शान्ति प्रक्रियाको अन्तिम चरणको काम छिटै नै टुङ्ग्याउने स्पष्ट पार्नुभयो ।

“जनयुद्वको नेतृत्व मैले नै गरेको हूँ, राम्रो काम र नराम्रो कामको जिम्मा मैले नै लिनुपर्छ”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “द्वन्द्वमा गम्भीर प्रकृतिका अपराध गर्नेलाई कारवाही गर्नुपर्छ, म पनि त्यो जिम्मेवारीबाट पन्छिन पाउँदिन, पीडितले मलाई मरेपछि पनि छाड्ने छैनन् ।”

उहाँले शान्ति प्र्र्क्रियालाई लम्ब्याइरहन आफूलाई पनि मन नभएको उल्लेख गर्दै विस्तृत शान्ति सम्झौतामा छ महिनामा निष्कर्षमा पुर्याउने भनिए पनि संविधान लेखन र तत्कालीन माओवादीका सेना समायोजन कार्य मुख्य भएर आउदा पीडितलाई न्याय दिने काममा ढिलाइ भएको स्वीकार गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नेपालमा काम गर्दा काम गर्न ढिलाइ भए पनि कामहरु पूर्णरूपमा सम्पन्न गर्ने गरी गरेको र द्वन्द्वको एउटा काम पीडितलाई न्याय दिनेमा ढिलाइ नहुने बताउनुभयो ।

“शान्ति प्रक्रियाको अन्तिम कामलाई लम्ब्याउनुपर्छ भन्ने लागेको छैन, त्यो सोचेको पनि छैन”, उहाँले भन्नुभयो, “यो कुराले मलाई घोचेको छ, चिमोटेको छ, तन्काउने रहर छैन, अबको मुख्य काम यही हो ।”

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको आदेशानुसार ऐन संशोधन गर्ने र ऐन संशोधन गर्दा सातै प्रदेशमा गएर पीडितहरुसँग सुझाव लिने तयारी रहेको सुनाउनुभयो ।

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले छ महिनाभित्र काम सक्ने प्रतिवेदन बुझाएको हुनाले केही पदाधिकारी दोहोरिन सक्ने भए पनि सत्य निरुपण तथा मेलमिलाप आयोगमा पूरै नयाँ पदाधिकारी ल्याउने वचन दिनुभयो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्ने पूर्वप्रधानमन्त्री माधवकुुुुुुुुमार नेपालले सङ्क्रमणकालीन न्यायलाई छिटो टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

नेकपाका अध्यक्ष प्रचण्डलाई देखाउँदै नेता नेपालले भन्नुभयो, “यस प्रक्रियालाई निष्कर्षमा पुर्याउन तपाईँ ताप्के हो, तात्नुस्, म सहयोग गर्न तयार छु ।” उहाँले द्वन्द्वको अन्तिम चरणको कामलाई छिटो टुङ्ग्याउँदा नै मुलुकको हित हुने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलाले द्वन्द्वकालीन समस्या समाधान गर्नु दलहरुको मात्र नभई राष्ट्रको सामूहिक दायित्व भएको हुँदा सामूहिक प्रयास र प्रयत्नबाट निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभयो ।

उहाँले मुलुकमा राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि दलहरु क्रियाशील र एकजुट भएजस्तै सबैले मिलेर द्वन्द्वको पीडा समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मानवअधिकारवादी तथा द्वन्द्वपीडितहरुले द्वन्द्वको घाउले लामो समयसम्म पिरोलिरहेको हुँदा चाँडो न्याय दिन दलहरु तत्पर रहनुपर्नेमा जोड दिएका थिए । –रासस