सोमबार, २ मंसिर २०७६
DainikNepal.com
सोमबार, २ मंसिर २०७६

उपप्रधानमन्त्री पोखरेल ‘दुबई एयर–शो’ मा सहभागी

दैनिक नेपाल २०७६ मंसिर २ गते २१:०३

फाइल तस्वीर

काठमाडौँ, २ मंसिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल ‘दुबई एयर–शो’ को उद्घाटन समारोहमा सहभागी हुनुभएको छ । संयुक्त अरब इमिरेटस्का प्रधानमन्त्री तथा रक्षामन्त्री मोहम्मद बिन रसिदको औपचारिक निमन्त्रणामा उहाँ गत कात्तिक ३० गते युएई जानुभएको थियो ।
‘एअर–शो’को पहिलो दिन आइतबार भएको उद्घाटन समारोह तथा मुख्य प्रदर्शनीमा उपप्रधानमन्त्री पोखरेलले आतिथ्यता गर्नुभएको अबुदाबीस्थित नेपाली राजदूताबासले विज्ञप्तिमार्फत जनाएको छ ।

उद्घाटन शत्रपछि शेख, राजकुमार, दुबई व्यापारिक समाजका नेतृत्व तथा युएई सरकारका उच्च अधिकारीसँग दिवाभोज बैठक भएको थियो । त्यस क्रममा उहाँहरुबीच आपसी हितका वृहत्तर विषयमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले नेपालमा पूर्वाधार विकास, पर्यटन, ऊर्जा, कृषिलगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको थियो । युएईका प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गर्दै आगामी दिनमा नेपालमा लगानीका अवसर खोज्नका लागि युएईबाट प्रतिनिधि पठाउन तयार रहेको बताउनुभएको थियो ।

उहाँहरुबीच सैन्य सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपाली श्रमिकको कामप्रति युएईका प्रधानमन्त्रीले प्रशंसा पनि गर्नुभएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले युएइका प्रधानमन्त्रीलाई नेपाल भ्रमण वर्ष २०२० मा सहभागिताका लागि विशेष निमन्त्रणा दिनुभएको थियो ।

उद्घाटन शत्रका क्रममा उपप्रधानमन्त्री पोखरेलले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग छुट्टै भेटवार्ता गर्दै दुई देशबीचको सम्बन्धका विषयमा कुराकानी गर्नुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेल नेपाली दूतावास आबुधाबी र नेपाली विजनेस काउन्सिल दुबईको संयुक्त आयोजनामा आज नेपाली तथा विभिन्न देशका व्यवसायी एवं लगानीकर्तासँग ‘नेपालमा लगानीका सम्भावना’ सम्बन्धमा विशेष छलफल गर्नुभएको जनाइएको छ ।

सन् १९८६ देखि युएईले ‘दुबई एअर शो’ को आयोजना गर्दै आएको छ । विभिन्न देशले एअर शोलाई शक्ति प्रदर्शनका रुपमा समेत लिने गरेका छन् ।

यस प्रदर्शनीमा नेपाल पहिलो पटक उच्चस्तरीय नेतृत्वसहित सहभागी भएको हो । उपप्रधानमन्त्री पोखरेल यही मङ्सिर ४ गते स्वदेश फर्किने कार्यक्रम छ । –रासस

प्रतिक्रिया
सम्बन्धित