आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

‘सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौतीहरु देखा परे’

दैनिक नेपाल २०७६ मंसिर १ गते १५:५३

-प्रतिक पौडेल
भैरहवा, १ मंसिर । लुम्बिनी न्युज फेस्टिभलको पहिलो सत्रमा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रीत हुनुपर्ने उनीहरुको भनाइ थियो ।

आइतवार फेस्टिभल उद्धघाटन पुर्व भएकोे सत्रमा ‘पत्रकारिता : चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम भएको हो । प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली र नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसाल मुख्य वक्ता र कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारी सहकर्ताको रुपमा रहनुभएको कार्यक्रममा ‘पत्रकारिता चुनौती र भविष्य’ बिषयमा अन्तरक्रिया भएको हो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताए ।

उनले पत्रकारिता हतारमा गर्न नहुने बताए । हुबहु÷कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन्, खोजमूलक पत्रकारिताको आवश्यकता छ, उनले भने ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए । उनले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताए ।

खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताए ।

उनले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताए । उनले भने, परम्परागतथ मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेकाे छ ।

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गरे । उनले राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताए ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताको लागि आवश्यक कुराहरुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए ।

नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन् । उनले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समुहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपि पेष्ट जस्तो देखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित