शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १७:५७

काठमाडौँ, २९ कात्तिक । जिल्ला अदालत रौतहटले जिउँदै इँटा भट्टामा जलाएको आरोपमा पक्राउ परेका अफताब आलमलाई थुनामा राख्ने आदेश जारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका निलम्बित सांसद आलमलाई अदालतले शुक्रबार पूर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएको हो ।

१० दिनदेखि चलिरहेको आलमको मुद्दामा थुनछेक आदेश सुनाउँदै जिल्ला अदालतले शुक्रबार उनलाई थुनामा पठाएको हो ।

अदालतमा पेस भएको प्रारम्भिक प्रमाणका आधारमा आलम निर्दोष रहेको ठहर नभएकाले पूर्पक्षका लागि थुनामा पठाउने आदेश जिल्ला अदालतले गरेको हो ।

जिल्ला अदालतको आदेशपछि आलम फैसला नभएसम्मका लागि थुनामा गएका छन् । आलमलाई ४५ वर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालय, रौतहटले गरेको थियो ।

आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थसम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने जिकिर आरोपपत्रमा गरिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले बम विष्फोटन घटनामा संलग्न तथा घटना ढाकछोप गर्न सहयोग गर्नेसमेत ११ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।

त्यसमध्ये आलमसहित १० जनालाई जन्मकैद र १ प्रतिवादीलाई कम सजाय माग गरिएको छ । आलमसहित उनका भाइ महताब आलम, सहयोगीहरू मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्रि सहनी र मुक्ति साहलाई प्रतिवादी बनाइएको छ ।

तर उनीहरू जिल्ला अदालतको आदेशविरुद्ध उच्च हुँदै सर्वोच्चसम्म जाने बाटो भने बाँकी रहेको रहेको छ । लामो थुनछेक बहसपछि अदालतले यस्तो फैसला सुनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित