शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १५:२१


बाजुरा, २९ कात्तिक । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रँदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्क्विहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताउनुभयो । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपत्विपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका– ५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मना गाड लघुजलविद्युत्बाट सिङ्गलफेजको बिजुली लाइन जडान भएकाले त्यसले लघु जलविद्युत्को टर्वाइनमा केही समस्या आएका कारण हामीले हटाएको र तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले तत्काल समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिनुभयो ।

जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित