शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

दोब्बर बढी काम गरेर अढाइ लाखको योजनामा ५० हजार बचत

दैनिक नेपाल २०७६ कार्तिक २९ गते १५:०६

भजनी, २९ कात्तिक । कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर रु ५० हजार बचाएको छ ।

जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट वडा नं ३ को भगतपुर बरका पुरुवा हुँदै मुख्य सडक जोड्ने बाटो निर्माणबाट बचेको रु ५० हजार गाउँकै युवा सञ्जाललाई उपभोक्ता समितिले हस्तान्तरणसमेत गरेको छ ।

गाउँपालिकाले विनियोजन गरेको बजेटबाट ४२१ मिटर सडकमा माटो पटानी तथा नालीको निकासका लागि रु दुई लाख ५० हजार र जनश्रमदानको रु ६२ हजार १३५ गरी रु तीन लाख चार हजार ६३ को लागत तयार भएको थियो ।

उक्त रकमबाट उपभोक्ता समितिले ९७० मिटर सडकमा माटो पटानी तथा नालीको निकास गरी रु ५० हजार बचत गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष भक्तराज देवकोटाले बताउनुभयो ।

उपभोक्ता समितिले सडक निर्माण भएर बचत भएको उक्त रु ५० हजार वडा नं ३ भगतपुरमा रहेको घोडाघोडी देउता युवा ओजरार घरको स्तरोन्नतिका लागि भन्दै एक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ ।

उहाँले पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीले ठेकेदार तथा उपभोक्ता समितिसँग मिलेर लाखौँको भ्रष्टाचार गर्दै आएकामा आगामी दिनमा युवाले समुदायस्तरमा यस्ता उदाहारणीय काम गरी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन पर्नेमा जोड दिनुभयो ।

बाटो निर्माणको काम गत आर्थिक वर्षमै सके पनि बचत भएको रकम आवश्यकताका आधारमा सबैको प्रतिनिधित्व हुने र स्थानीयवासीको सुझाव सल्लाहका आधारमा सो घरको स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको बताइएको छ । –रासस

प्रतिक्रिया
सम्बन्धित