शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

दशौं हजार सुंगुरको संहार, नदी रक्ताम्मे

दैनिक नेपाल २०७६ कार्तिक २९ गते ६:४६

सोल । दुई कोरियाली मुलुकको सीमाक्षेत्रमा पर्ने इन्जिम नदी दशौं हजार सुंगुरको संहारका कारण रक्ताम्मे भएको छ ।

दक्षिण कोरियाले ‘स्वाइन फिबर’को कारण देखाउँदै ४७ हजारवटा सुंगुर एकैपटक मारेर नदीमा फ्याँकिदिँदा यस्तो भएको हो । ‘अफ्रिकन स्वाइन फिबर’ सर्नसक्ने भन्दै कोरियाली अधिकारीहरुले यति ठूलो संख्यामा सुंगुर मारिएको बताइएको छ ।

कोरियामा ‘अफ्रिकन स्वाइन फिबर’ तिब्र र उच्च संक्रमणको जोखिममा पर्ने जनावरको रुपमा लिइन्छ । यो संक्रमण भएको सुंगुरको बाँच्ने सम्भावना लगभग शुन्य हुने विज्ञहरुको भनाइ छ । मान्छेमा सर्ने सम्भावना भने नभएको उनीहरुको भनाइ छ ।

आमसंहार भइरहँदा रगतका कारण अन्य सुंगुरमा संक्रमण सर्ने कुरा अधिकारीहरुले स्वीकार गरेका छैनन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार यसरी हत्या गरिएका सुंगुरलाई एक सातासम्म थुप्रै कामदार लगाएर ट्रकमा लोड गर्दै सीमाक्षेत्रस्थित नदीमा लगेर फालिएको हो ।

‘अफ्रिकन स्वाइन फिबर’को संक्रमण दक्षिण कोरियामा हालै मात्र देखिएको हो । उत्तर कोरियामा भने यो संक्रमण गत मे महिनामै देखिएको थियो । तर दक्षिणले आफ्नो सीमाक्षेत्रमा शतर्कता अपनाउँदैआएको थियो । सावधानीका बावजुद दक्षिणमा गत सेप्टेम्बरमा यस्तो संक्रमण सुरु भएको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित