बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

दायित्वको भवनमा सुबसेनका पाँच पुस्तक एकैसाथ लोकार्पण

दैनिक नेपाल २०७६ कार्तिक २७ गते ६:४०

काठमाडौं, २७ कात्तिक । साहित्यकार एबं लेखक सुबसेनका पाच पुस्तक एकै साथ लोकार्पण भएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको आफ्नै भवनमा पहिलोपटक साहित्यिक कार्यक्रममा साहित्यकार सूब सेनद्वारा रचित कथासङ्ग्रह ‘भाले बासिसक्यो’ र उपन्यासहरू— ‘अन्जुश्री’, ‘हेमा’, ‘वीरसिक्का’ र ‘आन्दोलन’को बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल सहित अध्यक्ष रामप्रसााद पन्त, बिष्णुबिभु घिमिरे, प्रा डा रामप्रसाद दाहाल, बरिष्ठ पत्रकार एबं प्रतिष्ठानका सल्लाहकार टंक पन्त, समालोचक ठाकुर शर्मा, पूर्ब मन्त्री हरिप्रसाद न्यौपानेले लोकार्पण गरेका हुन् ।

गत असोज १२ गते उद्घाटन भएको सो भवनमा विभिन्न आख्यानपरक पाँच कृतिहरू लोकार्पण गरेर साहित्यिक कार्यक्रमको थालनी भएको छ ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले ‘भाषा’, ‘साहित्य’, ‘संस्कृति’ र ‘कला’को समुचित विकास नभईकन कुनै पनि देश समृद्ध र सम्पन्न भएको छैन र हुन पनि नसक्ने बताए ।

उनले प्रसिद्ध साहित्यकार सूब सेनका पाँच कृतिहरूले पनि सामाजिक सचेतना बढाउँदै नेपाली साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल हुनेछन् भन्ने कुरामा आफू बिश्वस्त रहेको बताए । उनले भने— बूढानीलकण्ठमा हामीले एउटा सिर्जनाग्राम बनाउनेछौँ र स्रष्टालाई साहित्य सिर्जना गर्ने महत्वपूर्ण ठाउँ उपलब्ध गराउनेछौँ ।

कार्यक्रममा विमोचित कृतिहरूमाथि प्रा.डा. भागवत ढकाल र समालोचक गोपालप्रसाद गैरेले समीक्षात्मक टिप्पणी गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरे र साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य दिए ।

दायित्व वाङ्मय प्रतिष्ठानको आयोजना र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त समारोहमा कवि तथा गीतकार गंगासागर पन्तले कविता वाचन गरेका थिए ।

लेखप्रसाद निरौला र कवि यादव भट्टराईले पनि आ–आफ्ना विचारहरू व्यक्त गरेका थिए । दायित्व बाङमय प्रतिष्ठानले लामो समयदेखि साहित्यिक क्षेत्रमा उल्लेख्य योगदान पुरयाएको र साहित्यकाहरूद्धारा लिखित पुस्तक प्रकाशन गरी महत्वपूर्ण सहयोग जस्ता कामहरू गरेको कारण पनि राज्यले नै बुढानिलकण्ठ नगरपालिका क्षेत्र स्पेशलचोकभित्र भूमि र भबन बनाउन आर्थिक सहयोग गरेको थियो ।

बुढानिलकण्ठ नगरपालिकाले आपनो क्षेत्रमा बनेको साहित्कि भबन र पुस्तकालयले आपनो क्षेत्रलाई गौरबको रुपमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित