बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

गृहमन्त्री बादल र चीनका आपतकालीन व्यवस्थापन उपमन्त्री भेटवार्ता

दैनिक नेपाल २०७६ कार्तिक २५ गते १७:०७


काठमाडौँ, २५ कात्तिक । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएका चीनका आपतकालीन व्यवस्थापन मन्त्रालयका उपमन्त्री जेङ्ग गुआगुङ्गले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र विपद् व्यवस्थापनमा दुई देशबीच सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले गत महिना चिनिया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा विपद् व्यवस्थापन सम्बन्धी पनि दुई देशबीच सम्झौता भएको स्मरण गर्दै सो सम्झौता कार्यान्वयनको प्रक्रियामा गईसकेको जानकारी दिए ।

प्राकृतिक विपद्का घटना दुवै देशको साझा समस्या रहेको भन्दै अनुभवको आदान–प्रदान र सहकार्यका माध्यमबाट दुई देशले विपद् व्यवस्थापनमा सहकार्य बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगको अपेक्षा आफुहरुले गरेको बताए ।

भेटवार्तामा उपमन्त्री जेङ्गले विपद् व्यवस्थापनको क्षेत्रमा नेपाल–चीनबीच सहकार्यमा जोड दिँदै विपद् व्यवस्थापनको क्षेत्रमा नेपाललाई चीनले गर्दै आएको सहयोग बढाईने जानकारी दिए ।

उनले केहि समयपछि विपद् व्यवस्थापनसम्बन्धी मन्त्रीस्तरीय सम्मेलन चीनमा आयोजना हुन लागिरहेको जानकारी दिँदै सो सम्मेलनमा उपस्थितिका लागि गृहमन्त्री थापालाई निम्तो दिए ।

प्रतिक्रिया
सम्बन्धित