बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ११ प्रकारका विशेषज्ञ सेवाहरु

दैनिक नेपाल २०७६ कार्तिक २५ गते १५:१४


घोराही, २५ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एकपछि अर्को गर्दै मेडिकल अफीसरसहीत नयाँ विशेषज्ञ डाक्टरहरु थपिँदै गएका छन् ।

प्रतिष्ठानको सेवा सुधार हुँदै गएपनि केही नभएको प्रचार गरेर निजि क्लिनिकलाई प्रत्यक्ष फाइदा पुग्ने गरी सञ्चारमाध्ययमा समाचारहरु आइरहेको र यसले सही सुचना जनताले नपाएर भ्रम सिर्जना गर्न खोजिएको प्रतिष्ठानको दावी छ । प्रतिष्ठानको सेवा भए नभएको विषयमा आफैँ आएर चेकजाँच गर्न पनि सर्वसाधारणलाई प्रतिष्ठानले आग्रह गरेको छ ।

सर्वसाधारणलाई निजि क्लिनिकमा महङ्गो पैसा तिर्न वाध्य बनाउन नहुने भन्दै नभएका सेवा थप्न सञ्चारमाध्यमले सहयोग गर्नुको साटो भएका सेवा पनि नभएको भनेर सञ्चारमाध्यमले जनतामा गलत सुचना दिन नहुने प्रतिष्ठानकोतर्फवाट आग्रह गरिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले झन्डै एक दर्जन विशेषज्ञ सेवा सर्वसाधारणले पाइरहेको बताए । विषेशज्ञ डाक्टर नभएको भनेर गलत प्रचार गरीएको उनले बताए ।

प्रतिष्ठान गठन भए पश्चात सेवा प्रबाह थप सुधार हुँदै गएपनि यस वारेमा राजनीतिक दलहरुको एकमत नहुदा थप सेवा विस्तार गर्न बजेट अभाव भएको छ । आइसियुका लागि बजेट आएमा थप सेवा विस्तार गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका शाखा अधिकृत लामिछानेले सर्जरी, छाला रोग, हाडजोर्नी, नाककान घाटि, मानसिक रोग, बायोकेमिष्ट्री, प्रसुति रोग लगायतका विभागहरुमा अहिले जनशक्ति रहेको र सर्वसाधारणले यो सेवा पाइरहेको जानकारी दिए । उनले प्रतिष्ठानमा अनुभवि,राम्रा९राम्रा डाक्टरहरु रहेको र उपकरण र ल्यावहरुहरु पनि अत्याधुनिकहरु रहेको बताए ।

उनले अहिले साना तथा ठुला अप्रेसनहरु भइरहेको पनि जानकारी दिए । उनले अतिरीक्त सेवा दिन थालेपछि सर्वसाधारणलाई थप सहजता भएको छ । प्रतिष्ठानका डाक्टरहरु अस्पताल परीसरमै जतिवेला पनि भेटिन्छन् ।

शाखा अधिकृत लामीछानेले सर्जरीमा डा।इश्वरी भुसाल, हाडजोर्निमा निर्देशक डा सागर पन्थि, डा. रिसिश्वर श्रेष्ठ, डा. लक्ष्मण सिग्देल, प्रसुति रोग विशेषज्ञमा डिन डा. बसन्त लामिछाने, डा. श्रीषिमा पोख्रेल, नाक, कान घाटि विशेषज्ञमा डा. विक्रम बुढाथोकी, मानसिक रोग विशेषषज्ञमा डा. सुनयना यादव, छाला तथा यौन रोग विशेषज्ञमा डा।जेम्स मर्हजन, जनरल प्रयाक्टीसनरमा डा. अमित लाम्गादे रहेको जानकारी दिए ।

डा. अमितले मेडिसिन, फीजीसियन, वालवालिकाको उपचारका लागि आउने विरामिको स्वास्थ्य जाँच गर्दै आएका छन् । प्रतिष्ठानले फीजिसियन, बाल रोग विशेषज्ञमा डाक्टरहरु थप गर्ने तयारी पनि गरेको छ ।

पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चितवन मेडिकल कलेजसंग विशेषज्ञ डाक्टर, नर्ससहित आदानप्रदान गर्ने गरी र शैक्षीक कार्यक्रमहरु गर्न एक अर्कालाई सहयोग गर्ने गरी सम्झौता भएपछि यसले थप सहज हुने प्रतिष्ठानले बताएको छ ।

लामीछानेका अनुसार बायोकेमिष्ट्रीमा विनित शर्मा, पोषण तथा आहार विज्ञमा मदन पाण्डे, दन्त रोग विशेषज्ञमा डा एन्जिलीका कार्कि, भिडियो एक्सरेमा डा वोम विसि रहेका छन् । नाक कान घाटिमा आफै पनि प्रतिष्ठानकि भिसि प्राडा संगिता भण्डारीले पनि विरामि हेर्दै आएकि छिन् ।

प्रतिष्ठानले स्थापना दिसको अवसरमा अत्याधुनिक ल्याव र दन्त् रोगको वारेमा सेवा दिन सुरु गरेको हो । त्यस्तै प्रसुतिका लागि आउने महीलाहरुलाई प्रतिष्ठानले सुत्केरी भत्ता समेत दिदै आएको छ ।

साउन महिनामा ओपिडिमा ७ हजार २ सय ५३ विरामी अस्पताल पुगेका थिए भने भदौमा ३ हजार ८ सय ६४ र असोजमा २ हजार १ सय ६० जनाले सेवा लिएका छन् ।

त्यसैगरी साउनमा ५ सय १३, भदौमा २ सय १० र असोजमा ९९ जनालाई भर्ना गरेर उपचार गराईएको प्रतिष्ठानले जनाएको छ । साथै साउनमा २ सय २० जना अस्पतालमा पुगेर सुत्केरी भएका छन भने भदौमा ७२ र असोजमा ४६ जना सुत्केरी भएका छन् ।

यसैबिच साउनमा २ सय ८४, भदौमा १ सय ३३ र असोजमा ९८ जनाको बिभिन्न अप्रेशन भएको प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले जानकारी दिए । अहिले प्रतिष्ठानमा पोष्टमार्टमसमेत हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित