बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सीमा विवाद समाधानमा अभूतपूर्व राष्ट्रिय एकता : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ कार्तिक २३ गते २२:००

काठमाडौँ, २३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभागको हो भन्ने विषयमा अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज कालापानी क्षेत्रको सिमाविवादको विषयमा आयोजना गरेका सर्वपक्षीय बैठकमा सो कुरा बताएका हुन् । बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानका लागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाएका छन् ।

“सरकार यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक रुपमा सिमाका समस्या समाधान गर्न अग्रसर रहेको छ” प्रधानमन्त्री ओलीले भने “सिमाका विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछ । ”

प्रधानमन्त्री ओलीले भने “भारतको व्यवहारमा परिवर्तन आएको छ । हिजो सिमानामा बाटो र बाँध बन्थे आज खोल्ने क्रम छ । त्यसैले समस्या समाधान हुनेमा म आशावादी छु ।”

“हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौँ । त्यसैले यस क्षेत्रका मुलुकहरुले यस्ता विवादहरुमा अल्झिनु हुँदैन ।” प्रधानमन्त्री ओलीले भने “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरुसहित कालापानी क्षेत्र नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रा लागि मात्र हैन भारतका लागि पनि आवश्यक छ ।”

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैली लागु नहुने बताएका छन् । “हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन” प्रधानमन्त्री ओलीले भने “अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशील छ ।”

प्रधानमन्त्री ओलीले हालको सिमा विवादको विषयमा कसैलाई उत्ताउला पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । “उत्ताउला अभिव्यक्तिले वातावरण बिगार्दछ” प्रधानमन्त्री ओलीले भने “भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभाग फिर्ता लिन्छौं ।”

प्रतिक्रिया
सम्बन्धित