बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

हिमानीले भोग्या हन्डरको अनुमान

अतुल अभय २०७६ कार्तिक २३ गते ११:२१

-अतुल अभय

‘सर ! पारसका आजभोलीका समाचार र तस्बिर देखेर छक्क परेको छु । कस्तो मानिस रहेछ, कति चिप भएर हिँड्न र देखिन सकेको होला है’, मेरा एक जना सहकर्मी कम्प्युटरको किवोर्डका चालसँगै सोध्छन्,‘त्यस्तो राजा जस्तो मानिसको छोरा, युवराज जस्तो मान्छे । अलिकति त ध्यान हुनुपर्ने नि, इज्जतको पनि ।’

सहकर्मीमा प्रश्न अनि त्योसँगै उत्तरका तर्क कम्प्युटरको खिटिरपिटिरसँगै झरिरहेका छन् । म मौन छु, प्रत्युत्तर दिने मौका पनि पाइरहेको छैन । तर उनले उठाएका प्रश्नका थाकमा कतिपयचाहिँ समाजको साधारण जीवनसँग जोडेर तर्कवितर्क गर्न सकिन्छ ।

उनी पारसको नीजि जीवनका समाचार देखेर, सुनेर हैरान छन् । अनि फेरि सोध्छन्,‘त्यति राम्री पत्नी हिमानी हुँदाहुँदै के त्यो सोनिकासँग हिँडेको होला है ? राम्रो साथी भन्छन् अनि यसरी बेलामौका अति नजिक भएको तस्बिर र भिडियो आइरहेको छ ।’

उनले गरेको प्रश्न समाजका आम मानिसले सोध्ने बिम्ब हो । यो आलेख लेख्दै गर्दा समाजका विविध पाटामा रहेका, नेपाली समाजमा हुर्किएका सबैले यो कोणबाट अनौपचारिक प्रश्न मात्र गर्दैनन् । हिमानीले भोगेको हन्डरका विषयमा अनुमान पनि गर्छन् ।

राजपरिवारको सदस्य भएका कारण उनीहरूको आपसी सम्बन्धलाई मापन गर्ने अन्य आधार हुन सक्लान् । तर यीनलाई आम मानिसको दैनिक, सामाजिक र पारिवारिक जीवनको कसीमा राखेर पनि अनुमान गरौं त ?

राजसंस्थाको अन्त्य भएपछि पूर्वयुवराज पारस र हिमानी लगभग एकै ठाउँमा बसेका छैनन् । त्यसअघि पनि नबसेका हुन सक्लान्, सम्बन्धको आयाम राम्रो नहुन सक्छ । तर त्यसयताको समयमा पारसका कारण आएका समाचार र विवरण अनि हिमानीको चिन्तनलाई अनुमान गरौं त ?

चिचिला सन्तानसँग टाढा रहेको बाबु, बाबुका अनेक अफेयरका समाचार अनि त्यसले आमालाई पारेको मानसिक असरबारे बुझेका सन्तानको भोगाईको पनि अनुमान गरौं त ? र, अहिले राम्रो बुझ्न सक्ने सन्तान, प्रेमदेखि पारिवारिक जीवनबारे मापन गर्ने सन्तानले बाबुआमाको सम्बन्धबारे आउने विविध विवरणका विषयमा कस्तो धारणा बनाउँदा हुन् कति विक्षिप्त हुँदा हुन् अड्कल काटौं त ?

अर्को, कुनै पनि पत्नीका लागि आफ्ना पतिको अर्को अफेयर यसै पनि सहन सक्ने हुँदैन । तर हिमानीले पति पारसका सन्दर्भमा यस्ता धेरै हन्डर खाएकी छन् । थाइल्यान्डमा कन्निकासँगको सम्बन्ध छुटाएकी हिमानीले नेपालमा सोनिकासँगको हल्लालाई सुन्नु परेको छ । भलै मिडियामा उनले यसको उत्तर दिनु परेको छैन । परिवारका सदस्यबीच हुने गन्थनकाबीच उनको मनमा कस्तो पीरमर्काको प्रश्नोत्तर हुँदो हो, अनुमान गरौं त ?

हल्ला मात्र होइन, कतिपय श्रव्यदृश्य सामग्री नै बाहिर आएका छन् जसले हिमानीको मन कतिसम्म पोलेको छ भन्ने अनुमान गर्न सकिन्छ । हालै फेरि पारसको सोनिकासँगको अर्को भिडियो र तस्बिर आयो– पिङ खेलाएको । यसले हिमानीको मनमा रहेको पीडामा डंका थप्ने काम मात्र गरेन, पारसको सार्वजनिक छविलाई अझ धुमिल बनाउँदै नीजि जीवनलाई दुर्नाम बनाउन काम गरेको छ ।

हुन त दरबारभित्रका अनेक पात्रका वैवाहिक र यौन जीवन गोप्य अनि चलायमान पनि हुन्छ भनिन्छ । तर सतहमा छारस्ट भएको हुँदैन । आम मानिस र समाजको बिम्बलाई आधार मान्ने हो भने पूर्वयुवराज पारसको दिनचर्या, मिडिया चर्चालेचाहिँ हिमानीले भोग्या हन्डरको अनुमान सहजै गर्न सकिन्छ । त्यसैले समाजका साधारण नारीले पनि पारसको आलोचना गर्दै भन्न थालेका छन्– छि! कस्तो पति ?

दरबार, त्यसको प्रतिनिधित्व गर्नेका सन्दर्भमा आम मानिसले बनाउने धारणाले राजनीतिक प्रणालीमा नै असर गर्छ । तर त्यो प्रणालीलाई सकारात्मक वा नकारात्मक असर गर्ने भन्नेचाहिँ त्यसभित्रका पात्रका आनीबानी र सतहमा देखिने चरित्रले नै हो । पारस यसै पनि सार्वजनिक जीवनमा विवादमा आइरहने पात्र हुन्, अफेयरका विषयमा कुनै खास होइनन् । तर आम परिवारको अचानोमा राखेर अनुमान गर्ने हो भने, उनका विवादीत चरित्रले हिमानीको मनमा पीरमर्काको डंका, पूर्वराजा ज्ञानेन्द्रको मनमा छोराका विषयमा कस्तो धारणा बनेको होला ?

यी प्रश्नहरूको अनुमान गरौं, उत्तरहरु पनि अनुमानकै आधारमा तय गरौं । यसका परिणाम कस्ता हुन सक्छन् त्यो पनि अनुमानमै सीमित राख्नुको विकल्प के होला त ?

प्रतिक्रिया
सम्बन्धित