
स्याङ्जा, २२ कात्तिक । नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।
शाह वंशको कूल देवता एवं ऐतिहासिक रुपमा रहेको आलमदेवी मन्दिरको नाममा हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रमका लागि कालीगण्डकी गाउँपालिका, आलमदेवी मन्दिरमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले प्रविधिले विकासको गतिमा बल पुर्याउने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले भन्नुभयो, “देशको रुपान्तरणका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन सोचलाई पूरा गर्न डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ ।
त्यसैले सरकारले डिजिटल प्रविधिको विकास र प्रयोगमा लागेको छ ।” प्रविधिको सदुपयोगभन्दा पनि दुरुपयोग गर्ने बढेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रविधिको दुरुपयोग गरेर समय बर्बाद गर्नेभन्दा सदुपयोग गरेर फाइदा लिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार मुलुकको विकास निर्माणको महाअभियानमा रहेको बताउँदै मन्त्री बाँस्कोटाले नेपालका नदीमा पानी जहाज सञ्चालन गर्नुका साथै आफ्नै स्याटलाइट राख्ने बताउनुभयो ।
सपना नदेखी विकास सम्भव नहुने भन्दै उहाँले विकासका कुरा गर्दा हाँस्नेलाई सरकारले विकासको पाठ पढाएर विकासका लक्ष्य पूरा गरी छाड्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले भारतले प्रकाशन गरेको नक्सामा नेपालको कालापानी र लिपुलेकका विषयमा उठेको प्रसङ्गका बारेमा भन्नुभयो, “नेपाल सरकार स्पष्ट छ, हाम्रो भूमि हामी कुनै पनि हालतमा गुमाउन सक्दैनौँ, यसको कूटनीतिक तवरबाट समाधान गर्छौँ ।”
कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले सरकारको एउटै मात्र लक्ष्य विकास भएकाले सरकारको ध्यान यतिबेला विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो ।
मन्त्री अर्यालले सिद्धार्थ राजमार्गको स्तर उन्नतिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताउँदै केही समयमा नै बोलपत्र प्रक्रियामा जाने बताउनुभयो ।
मन्त्री अर्यालले भन्नुभयो, “विकास निर्माणका काममा तत्कालै प्रगति नदेखिए पनि सरकार योजनाबद्ध ढङ्गले लागेको छ, यसका लागि सबैको सहयोग र सद्भाव आवश्क हुन्छ ।” –रासस













प्रतिक्रिया