बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् युनियनको उपाध्यक्षमा नेपालका अशोक सिलवाल

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १८:०१

कोलम्बो, २२ कात्तिक । श्रीलंकाको राजधानी कोलोम्बोमा कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् युनियन (काजु)को औपचारिक घोषणा गरिएको छ ।

कन्फेडेरेसनमा प्राथामिक रुपमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकार युनियन र स्वतन्त्र पत्रकारको प्रतिनिधित्व गर्ने सरोकारवालाको प्रतिनिधित्व छ ।

श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)ले पत्रकारहरुको क्षेत्रीय युनियनहरुसँग मिलेर केही समयदेखि निष्क्रिय रहेको कन्फेडेरेसन अफ एसियन जर्नालिस्टस् एसोसिएसनलाई ब्यूँताएको हो ।

१९७० को दशकको प्रारम्भतिर भेट्रान श्रीलंकाली पत्रकार स्वर्गीय डिएफ कारियाकारावानाको ब्रेनचाइल्डको रुपमा स्थापना भएको यो संस्थाले यस क्षेत्रका पत्रकारहरुले सामना गरिरहेका साझा मुद्दालाई सम्बोधन गर्ने उद्देश्य बोकेको छ ।

श्रीलंकाली राजधानी कोलम्बोमा २५ अक्टोबरमा सम्पन्न श्रीलंका प्रेस एसोसिएसनको ६४औं वार्षिक सम्मेलनका क्रममा (काजु)लाई ब्युँताइएको हो । उक्त सम्मेलनमा श्रीलंका, भारत, पाकिस्तान र नेपालका पत्रकारको सहभागिता थियो ।

नवनियुक्त अध्यक्ष मुदिता कारियाकारावानाले यसका सदस्यहरु संस्थालाई दक्षिण एसियाली पत्रकारको साझा मञ्च बनाउन यसलाई पूर्ण रुपमा क्रियाशील बनाउन प्रतिबद्ध रहेको बताए । कारियाकारावाना एसएलपिएका समेत अध्यक्ष हुन् ।

उद्घाटन बैठकमा बोल्दै कन्फेडेरेसेसनका नवनियुक्त महासचिव तथा भारतीय पत्रकार परमानन्द पाण्डेले यस क्षेत्रका पत्रकारको चुनौती समान रहेको बताए । पाण्डे इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का महासचिव हुन् ।

नवनियुक्त उपाध्यक्ष नेपालका अशोक सिलवालले दक्षिण एसियाका पत्रकारको समस्या समान रहेकोले समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए । सिलवाल स्वतन्त्र पत्रकार हुन् ।

कार्यक्रममा रोजगारी सुनिश्चितताको अभाव र हचुवा बर्खास्तगीलाई यस क्षेत्रका पत्रकारको साझा समस्याको रुपमा चित्रण गरिएकोे थियो । सार्क मुलुकका पत्रकारहरुको संगठन यो कन्फेडेरेसन पूर्ण सञ्चालनमा आएपछि हरेक मुलुकमा च्याप्टर खुल्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित