बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

लक्ष्मी बैंकले आँखाकाे क्यान्सरकाे उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने

दैनिक नेपाल २०७६ कार्तिक २२ गते १४:१५


काठमाडौँ, २२ कात्तिक । लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ ।

विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ ।

नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापी, लेजर थेरापी, प्लेग ब्राकिथेरापी, शल्यक्रिया लगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्यप्राप्तिमा सहयोग पुर्याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारका लागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो ।

लक्ष्मी बैंककाबारेमा

लक्ष्मी बैंक सन् २००२ मा स्थापना भएको क वर्गको वित्तीय संस्था हो । बैंकले आफ्ना शाखा एवं आइटी च्यानलहरुको माध्यमबाट ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हाल बैंकका नेपाल अधिराज्यभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित