२८ आश्विन २०८३, बुधबार

विपद् व्यवस्थापनमा अमेरिकाले थप सहयोग गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपाल भ्रमणमा रहनुभएकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीलेले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपालको विभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गरे ।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरीसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा व्यक्त गरे ।

भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिइन् ।

उनले नेपाललाई दिँईदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षाअनुसार थप सहयोग विस्तार गर्न आफूहरु तयार रहेको बताइन् ।

सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफूलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको बताइन् ।

भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदुत ¥याण्डी बेरी पनि सहभागी थिए ।