
-प्रतिक पौडेल
भैरहवा, २१ कात्तिक । अनेरास्ववियू भैरहवाले भारतले जारी गरेको नक्साविरुद्ध भारतीय सीमा नाकामै पुगेर प्रदर्शन गर्ने भएको छ ।
अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटीले बिहिवार क्याम्पस परिसरमा राखेको विरोध कार्यक्रममा बोल्दै जिल्ला सदस्य लक्ष्मी केसीले भारत सरकारले जारी गरेको राजनीतिक नक्सामा नेपालको भुभाग नै मिचिनु गम्भीर विषय भएको बताउँदै नेपाल भारतको सीमा नाका बेलहियामा विरोध प्रदर्शन गर्ने बताए ।
केसीले भारतले पटक पटक नेपालको भुभाग अतिक्रमण गरेर दबाउन खोजेको बताउँदै इतिहासमा पनि नेपाली राष्ट्रको एक टुक्राको लागी ज्यान दिन तयार रहेका थियौँ र अहिले पनि तयार रहेको जानकारी दिए ।
क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीले अनेरास्ववियूले नेपाल भारत सिमा नाका बेलहिया पुगेर भारतको सामुन्ने नै आफुहरुको असन्तुष्टी जाहेर गर्ने बताए । ठकुरीले बेलहियामा हुने विरोध कार्यक्रममा सबै युवा विद्यार्थीलाई सहभागिता हुन आग्रह गरे ।
कार्यक्रममा बोल्दै क्याम्पस कमिटी निवर्तमान सचिव भिम भण्डारीले युवा तथा विद्यार्थीहरु देश सार्वभौम सत्ता रक्षाको लागी गम्भीर हुनु पर्ने बताए । भण्डारीले भारतले जारी गरेको नक्सा नेपालको लागी अतिनै डरलाग्दो विषय रहेको जानकारी दिए ।













प्रतिक्रिया