बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मुख्यमन्त्री गोलेले भाजपासामु घुँडा टेकेः केबी राई

दैनिक नेपाल २०७६ कार्तिक २१ गते ६:४४

जगन दाहाल

गान्तोक । भारतीय जनता पार्टी (भाजपा) र सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-ले प्रजातन्त्रको दुरुपयोग गर्दै जनप्रतिनिधी ऐन-को धारा ११ लाई आफ्नो सुविधाको निम्ति गलत प्रयोग गरेर सिक्किम र सिक्किमेको अस्तित्व र चिन्हारीमाथि खेलाइँची गरिरहेको गम्भीर आरोप सिक्किम रिपब्लिकन पार्टी (एसआरपी)-ले लगाएको छ ।

प्रेस क्लब अफ सिक्किममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एसआरपी-का संस्थापक अध्यक्ष केबी राईले गत चार नोभेम्बरको दिन उप-चुनाउमा विजयी बनेका तीन जना विधायकहरूको सपथ ग्रहण समारोहमा मुख्यमन्त्री पीएस तामाङले आफूहरूले विपक्षी दल भाजपालाई जिताएर इतिहास कायम गरेको दावीलाई कठोर शब्दमा भर्त्सना जनाउँदै भाजपा र एसकेएम चुनाउ अघि नै गठबन्धनमा रहेको हुनाले विपक्षी दल भन्ने शब्दको प्रयोग गरेर मुख्यमन्त्रीले गठबन्धनको परिभाषालाई नै विटुल्याएको दावी गरे ।

उनले नव निर्वाचित ३ जना विधायकलाई अनि मुख्यमन्त्री निर्वाचितरूपमा बन्ने प्रकृयामा रहेका पीएस तामाङलाई बधाई दिँदै उपचुनाउ मार्फत भाजपालाई सिक्किमको इतिहासमा पहिलोपल्ट निर्वाचितरूपमा स्थापित गर्न आफूले भाजपा अघि घुँडा टेकेको कुरालाई पनि विरोध जनाए ।

उनले भने, ‘सिक्किमको विकास र लम्बित मागहरू पूरा गर्नु हो भने मुख्यमन्त्री तामाङले देशको अन्य राज्यहरूसित पनि सिक्नुपर्ने थियो । कुनै केन्द्रमा सत्तारूढ दललाई खुशी पारेर त्यसको अघि स्वभिमान लम्पसार पार्दै गरिएको सम्झौताले विकास हुँदैन ।’

‘किनभने भारत भनेको २९ वटा राज्य र आठवटा केन्द्र साशित प्रदेशहरूको संघीय मुलुक हो । यो कुरा मुख्यमन्त्रीले बुझ्नुपर्ने थियो’, उनले भने, ‘यसैगरी उनले भाजपाले पनि सिक्किममा आफ्नो हैकम जमाउनको निम्ति जुन निर्णय सिक्किममाथि गऱ्यो त्यसले देशको प्रजातन्त्रको दुरुपयोग भएको छ भने जनप्रतिनिधि ऐनको धारा ११ लाई भाजपाले आफ्नो फायदाको निम्ति दुरुपयोग गरेर चुनाउ आयोगलाई समेत गलतरूपमा सञ्चालन गरेको छ जुन देशको प्रजातन्त्रको निम्ति सबैभन्दा दुर्भाग्य बनेको छ ।’

अर्कोतिर भाजपाको सिक्किममा प्रवेशलाई मुख्यमन्त्री तामाङले प्रजातन्त्रमा ऐतिहासिक दिन भन्ने मन्तव्य व्यक्त गरेको तर वास्तवमा त्यो ऐतिहासिक दिन नभएर त्यो प्रजातन्त्रको दुरुपयोग भएको र गठबन्धनमा रहेर पनि पक्ष र विपक्ष छुट्टाउन नसक्नु मुख्यमन्त्रीले देशलआई नै अज्ञानताको परिचय दिनुरहेको आरोप लगाए ।

यसरी नै दुइवटा आसनमा जितेका भाजपा कै मार्फत सिक्किमको सुरक्षा कवच ३७१ एफ र अन्य सुविधाहरू खतरामा परेको खण्डमा त्यसको जिम्मेवार पूर्णरूपमा एसकेएम हुने र भाजपा सिक्किमेको हितमा छैन भन्नेकुराको सम्भावना अहिलेबाटै शुरु भइसकेको बताए ।

उनले सिक्किमको अल्पसंख्यकहरूको मसिहा बताउने संघ संस्थाहरू पनि अहिले आएर ३७१ एफ खतरामा पर्दा सिक्किमेको अस्तित्व मेटिने स्थितिमा पुग्दा कसैले केही मन्तव्य नगर्नुभनेको उनीहरू पनि स्वार्थको निम्तिमात्र अल्पसंख्यकको हिमायती रहेको स्पष्ट भएको बताए ।

जसमा मुख्यरूपम अल्पसंख्यकलाई सुरक्षा गर्नुरप्छ भन्ने ठुलै हाँक दिँदै हिँड्ने संस्थाका प्रमुखहरू अहिले सिक्किमको वर्तमान स्थिति बारे चुप-चाप भएपनि एसआरपी अल्पसंख्यकलाई असुरक्षित हुँदापनि मौन भएर नबस्ने र आफ्नो आवाज बुलन्द गर्न पछि नपर्न बताए ।

उनले सिक्किमको धेरै कुराहरूसित सम्झौता गर्दै सत्ताको सुरक्षा गर्न लागिपरेको वर्तमान सरकारले आफ्नो कार्यकालको पाँचवर्ष भित्रमा आफूले दिएको वचन पूरा गर्नुपर्ने अनि लिम्बू तामाङको आसन, जनजातिको मान्यता, नेपालीको सीट, आयकरमा छुट जस्ता मुद्दाहरूलाई पूर्व सरकारले जस्तो २०२६ देखाउँदै टार्नुनहुने बताए।

उनले अहिले भाजपा र एसकेएम मिलेर सरकार चलाइरहेको हुनाले ती मागहरूलाई पूरा गर्न पहल थालिहाल्नुपर्ने सुझाउ पनि एसआरपीको रहेको बताए ।

उनले मुख्यमन्त्रीका राजनीतिक सचिवलाई मन्त्री स्तरको नियुक्ति दिएर पनि गठबन्धनको परिभाषा बारे मुख्यमन्त्रीलाई सुझाउ दिन नसक्नुले सिक्किमको राजनीतिक स्तरलाई लज्जित तुल्याउने कार्य भएको भन्दै यस्ता कुराहरूको मुख्यमन्त्रीले जनतामा यथाशीघ्र स्पष्टीकरण दिनुपर्ने र अहिले भाजपाका १२ जना अनि एसकेएम-का १९ जना विधायक विपक्ष र पक्ष नभइ सत्तारूढ दल भएको अनि यो दुई दलको सरकारमा समान सहभागिता भएको कुरा मुख्यमन्त्रीले बुझ्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित