
काठमाडौँ, २० कात्तिक । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी र लिपुलेक समेटेको विरोधमा विद्यार्थी संघसंगठनले प्रदर्शन गरेका छन् । ‘गो ब्याक इन्डिया’को नारा लगाउँदै अनेरास्ववियु र नेवि संघले विरोध प्रदर्शन गरेका हुन् ।
‘कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ’ राजाधानीका विभिन्न स्थानमा उनीहरुले भारतविरुद्ध चर्को नारा लगाउँदै विरोध गरेका हुन् । त्यसैगरी भक्तपुरमा नेमकिपाले विरोध जुलुस निकालेको छ ।

‘लिपुलेक हाम्रो हो’ लेखिएको प्ले कार्डसहित काठमाडौंको भृकुटीमण्डपबाट अखिलले प्रदर्शन गरेको हो । उनीहरूले लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद ! भन्दै नारा लगाएका थिए ।

नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वाधिनता, सार्वभौमिकतामाथि नाङ्गो आक्रमण भएको भन्दै आपत्ति जनाएको छ ।
उसले त्यस विषयमा आवश्यक कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । विरोधका क्रममा विद्यार्थी नेताहरुले भारतको यो कदमको आलाचना गर्दै नेपाली भूभाग फिर्ता गर्न माग गरेका थिए ।
भारतको नक्सामा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेकलाई भारतीय सीमाभित्र राखिएको छ । भारतको उक्त नक्साको नेपालमा अहिले चर्को विरोध भइरहेको छ ।













प्रतिक्रिया