
काठमाडौँ, २० कात्तिक । भारतले जारी गरेको नयाँ नक्सामा विवेकशील नेपाली दलले आपत्ति जनाएको छ ।
विगतदेखिको प्रमाणका आधारमा नेपाली भूभाग भनी मानिएको कालापानी (जसलाई सन् १९६२ को भारत चीन युद्धको समयदेखि भारतले आफ्नो हो भन्ने दावी गर्दै व्यवहारिक नियन्त्रणमा राखेको छ), लिपुलेक र लिम्पियाधुरा लाई भारतीय भूमि भनी उल्लेख गरिएकोमा विवेकशील नेपाली दल नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
नेपाल भारतको सीमा विवाद भएका कालापानी, सुस्ता जस्ता क्षेत्रहरुको विवादको बारेमा दुई देशले परराष्ट्र सचिवको स्तरमा विवाद सल्ट्याउन संयन्त्र निर्माण भएको तथा स्थायी सीमा निर्धारण गर्ने सम्बन्धमा प्राविधिक तहबाट काम भैरहेको परिस्थिति रहेको सो दलले जनाएको छ ।
विवाद भएको क्षेत्रको बारेमा गठित संयन्त्रले अन्तिम निष्कर्ष नदिइकन एकलौटी तर्फबाट उक्त विवादित क्षेत्रलाई आफ्नो नक्सामा सामेल गर्ने भारतीय कदम अनपेक्षित छ र उक्त कदमको विवेकशील नेपाली दल विरोध गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा नागरिक समक्ष आफ्नो पक्षका प्रमाणहरु जारी गर्ने तथा कूटनीतिक पहलबाट भारतसँग प्रष्ट रुपमा वार्ता गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखोस् भन्ने पनि दलले सरकारलाई अनुरोध छ ।
यही भूभागको लिपुलेकलाई २०७२ जेठमा भएको भारत चीन सम्झौतामा द्विपक्षीय व्यापारिक केन्द्रको रुपमा विकास गर्ने सहमति भएकोमा भारतबाट हालसालै जारी नक्सालाई चीनबाट स्वीकार्ने परिस्थिति नबनोस् भन्ने तर्फ पनि कूटनीतिक पहल अगाडि बढाउन पनि विवेकशीलले आग्रह गरेको छ ।













प्रतिक्रिया