२८ आश्विन २०८३, बुधबार

लाेकसेवा आयाेगमा सङ्घतर्फ दर्खास्त दिनेको सङ्ख्यामा कमी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ कात्तिक । लोक सेवा आयोगमा सङ्घतर्फ गत आर्थिक वर्षको तुलनामा आवमा २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गत आवको तुलनामा आव २०७५/७६ मा ७५ प्रतिशत दर्खास्त कम परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

आयोगमा कूल एक हजार १७४ पदका लागि कूल एक लाख ४३ हजार ८४० दर्खास्त परेका थिए । आव २०७४/७५ मा कूल तीन हजार २३८ पदका लागि पाँच लाख ६७ हजार ८५३ मा दर्खास्त परेका थिए ।

आव २०७४/७५ मा पनि आव २०७३/७४ मा भन्दा ३३ प्रतिशत कम दर्खास्त परेको थियो । आव २०७४/७५ मा वन सेवाका विभिन्न श्रेणीविहीन पदका लागि विज्ञापन नभएका कारणले कूल दर्खास्त सङ्ख्यामा न्यून देखिएको हो ।

उहाँले कर्मचारी समायोजन प्रक्रियाका कारण सरकारबाट न्यून सङ्ख्यामा मात्र कर्मचारी पदपूर्तिका लागि माग भएकाले दर्खास्तमा कमी आएको बताउनुभयो ।

कूल २५७ वटा मात्र विज्ञापन गरिएका थिए । सबैभन्दा बढी खरदार तहमा ६४ हजार ७३३ दर्खास्त परेको छ । खरदारपछि नायब सुब्बा र शाखा अधिकृत रहेका छन् ।

आयोगबाट सञ्चालित परीक्षामा सम्मेलित ६५ जना उम्मेदवारलाई विभिन्न किसिमका कारवाही गरिएको छ । स्थानीय तहमा भएको नौ हजार १६१ पदका लागि भने कूल पाँच लाख २८ हजार ९६८ दर्खास्त परेको आयोगका सहायक प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

आयोगले आव २०७५/७६ मा कूल चार हजार ५७४ जना उम्मेदवारलाई स्थायीमा सिफारिस गरेको छ । त्यसमा एक हजार ४४८ अर्थात् ३२ प्रतिशत महिला र तीन हजार १२६ अर्थात् ६८ प्रतिशत पुरुष रहेका छन् ।

यसैगरी आयोगले २८ निकायका लागि तीन हजार ४६ विज्ञापनबाट २४ हजार ४७२ पदपूर्तिका लागि विज्ञापन गर्ने सहमति प्रदान गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै सुरक्षा निकाय र सङ्गठित संस्थातर्फका विज्ञापनमा कूल तीन लाख ३८ हजार ३९१ दर्खास्त परेका थिए । दर्खास्त परेकामध्ये एक लाख ९८ हजार ६८२ जना परीक्षामा सम्मेलित भएका थिए । तीमध्ये ३७ प्रतिशत महिला र ६३ प्रतिशत पुरुष रहेका छन् ।

आयोगले आव २०७५/७६ मा सुरक्षा निकाय र सङ्गठित संस्थामा ६५९ वटा विज्ञापनका लिखित नतिजा प्रकाशन गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । –रासस