
काठमाडौँ, १९ कात्तिक । विवेकशील नेपाली दलले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी बाग्लुङ २(ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उठाउने निर्णय गरेको छ ।
गण्डकी प्रदेशको पोखरामा कात्तिक १८ र १९ गते बसेको विवेकशीलको बैठकले उक्त निर्णय गरेको दलका नीति सचिव सञ्जीव भट्टराईले जनाएका छन् ।
कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भुमिका खेल्दै आएकी छन् । मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानून, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन् ।
दुई छोराछोरीकी आमा जमुनाले एचआईभी पीडित, द्वन्द्व पीडित, मानसिक रुपमा समस्यामा परेका बालबालिका तथा महिलाहरुलाई विभिन्न माध्यमबाट अतुलनीय सहयोग गर्दै आएकी छन् ।
विभिन्न संघ संस्थाको नेतृत्वदायी भूमिकामा बसेर होस् या सामाजिक अभियानहरुको नेतृत्व गरेर शर्माले आफुलाई प्रमाणित गरिसकेकी छन् ।
आफ्नो भूमिकालाई अझ नागरिकपक्षीय र प्रभावकारी बनाउन, कास्की पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने संकल्पसहित जमुना शर्मालाई उम्मेदवार बनाएको सो दलले जनाएको छ ।
वाग्लुङ २(ख) प्रदेश सभाका लागि उठेका सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन् । बुवा सत्तारूढ दलको तर्फबाट निर्वाचित जन प्रतिनिधि भए पनि उनी विवेकशील नेपाली दलको स्थापनाकालदेखिकै सक्रिय नेता हुन् । पछिल्लो समय उनले विवेकशील नेपाली दलमा वाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आएका छन् ।
यी दुवै साधारण नागरिकहरूले असाधारण साहस देखाएर उम्मेदवार बनेका छन् । “सामान्य मानिसको असामान्य राजनीति” को नजिर बस्ने गरी उपनिर्वाचनमा होमिने निर्णय गरेको विवेकशीलले आफ्ना उम्मेदवारहरुलाई भोट दिएर जिताउन समेत आम जनतासमक्ष अनुरोध गरेको छ ।













प्रतिक्रिया