२८ आश्विन २०८३, बुधबार

काठमाडौँ उपत्यकाबाट हराएका मोटरसाइकल फेला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ कात्तिक । ट्राफिक प्रहरीले विभिन्न समयमा काठमाडौँ उपत्यकामा हराएका २० मोटरसाइकल र एक कारलाई खोजी गरी सम्बन्धित धनीलाई बुझाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको वसन्तपुर, कोटेश्वर, नैकाप, थापागाँउ, स्वयम्भू, त्रिभुवन शिक्षण अस्पताल, गोँगबु, सामाखुशी, पाटन, लुभु, बालकुमारीलगायत क्षेत्रबाट हराएका मोटरसाइकल र कार खोजी गरी सम्बन्धित धनीलाई बुझाएको हो ।

महाशाखाले राम थापा, गणेश खकुरेल, अटुल महर्जन, नवराज डङ्गोल, सञ्जय बोहरा, सुभाषकुमार श्रेष्ठ, रामप्रसाद गौतम, हिराकाजी महर्जन, बेसिक गौतम, रुपक शाक्य, सूर्यप्रकाश ठाकुर, किरणकुमार थापा, रोशन नगरकोटी, राकेश तामाङ, सुदर्शन घिमिरे, रोण्डो तामाङ, अर्जुनराज सेढाई, सन्देश कार्की, सविना तामाङको मोटरसाइकल तथा कार खोजेर बुझाएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन हराएको निवेदनका आधारमा खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाइएको जानकारी दिनुभयो ।

उपत्यकाबाट हराएका अधिकांश मोटरसाइकल तथा कार उपत्यका बाहिर लैजाने गरेको महाशाखाले जनाएको छ ।

महाशाखाले चालू आर्थिक वर्षमा मात्र ९२ हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । मोटरसाइकल चोरी कार्यमा संलग्न २५ व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको महाशाखा प्रमुख ढकालले बताउनुभयो ।

त्यस्तै, नेपाल प्रहरीले एक किलोग्राम नक्कली सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नक्कली सुनलाई सक्कली सुन भनेर कारोबार गर्ने रामेछापका विशाल लामालाई आज साँझ बौद्धको नयाँबस्तीबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले अवैध तरिकाले नक्कली सुनलाई सक्कली सुन भनेर कारोबार गर्न लागेको अवस्थामा लामालाई पक्राउ गरिएको जानकारी दिनुभयो । –रासस