बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

चितवनमा सहकारीको गैरकानुनी रुपमा शाखा, बचतकर्ताको रकम जोखिममा

दैनिक नेपाल २०७६ कार्तिक १८ गते १८:२८


चितवन, १८ कात्तिक । भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकमा रहेको मुना बचत तथा ऋण सहकारी संस्था लिले गैरकानुनी रुपमा शाखा विस्तार गरेको पाइएको छ ।

सहकारी संस्थाले सम्पर्क कार्यालय भन्दै कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल बजार र भरतपुर महानगरपालिका वडा नं. १९ शारदानगरमा सम्पर्क कार्यालय संचालन गरेको छ ।

सहकारीले २०७५ साल असार २५ गतेबाट खोलेसिमल बजारमा सम्पर्क कार्यालय स्थापना गरी कारोवार संचालन गरेको छ । त्यस्तै शारदानगरमा पनि करिव १ वर्षदेखि सम्पर्क कार्यालयमा कारोवार हुँदै आएको छ ।

सो सहकारीले खोलेसिमल शाखाबाट करिव ५ सय ग्राहकबाट १ करोड भन्दा बढी रुपैया र शारदानगर शाखाबाट करिव ३ सय ५० ग्राहकको करिव ६० लाख भन्दा बढी रकम संकलन गरेको छ ।

कुनैपनि सहकारी दर्ता भइसकेपछि शाखा विस्तारका लागि पनि सम्वन्धित निकायबाट अनुमति लिनुपर्ने हुन्छ । एउटै नगरपालिकाभित्र नगरपालिकाबाट र फरक नगरपालिकामा शाखा विस्तार गर्ने भए प्रदेश सरकारबाट अनुमति लिनुपर्ने भएपनि सो सहकारीले अनुमति नै नलिई कारोवार गर्दा सयौँ बचतकर्ता लाखौँ रकम जोखिममा पर्न गएको हो ।

२०६८ सालमा स्थापना भई भरतपुर १० हाकिमचोकको सरस्वती टावरमा कार्यालय रहेको सो सहकारीको मुख्य कार्यालय पनि आर्थिक रुपमा समस्यामा रहेको छ ।

सो सहकारीको सम्पर्क कार्यालय संचालनमा रहेको बताउँदै मुना बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष एवम् प्रवन्ध निर्देशक श्रीराम उपाध्यायले सोको दर्ताको लागि प्रदेश सरकार समक्ष निवेदन दिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित