२८ आश्विन २०८३, बुधबार

महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १८ कात्तिक । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले स्थानीय तहमा महिला हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘लैङ्गिक हिंसाविरुद्धको वर्ष अभियान–०७६/७७, लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी, भूमिका र प्रतिबद्धता’ विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उहाँले महिला, बालबालिकाका र अपाङ्गका गुनासो सुनुवाईका लागि स्थानीय स्तरमा महिला तथा बालबालिकाका शाखा स्थापना गर्न आग्रह गर्नुभयो ।

महिला हिंसा अन्त्यका लागिका स्थायी संयन्त्र निर्माण गरी नियमित कार्य गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापाले महिला अधिकार दिवसअन्तर्गत लैङ्गिक हिंसाविरुद्धको अभियानलाई गाउँटोलमा तत्काल र दीर्घकालीन रुपमा सञ्चालन गर्न र समतामूलक समाज निर्माणमा जनप्रतिनिधिहरुको ठूलो भूमिका रहने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सबै प्रकारका हिंसा अन्त्य गरी स्वास्थ्य, सुखी र समुन्नत प्रदेश बनाउने कार्यमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले ल्याएको ‘म अघि बढ्छु’मा सबैको सहयोग भए लैङ्गिक हिंसा अन्त्य गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

उक्त प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि हामीले आफैँबाट हाम्रो संस्कार, प्रवृत्तिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरले टोल–समाजमा अधिकार विकेन्द्रीकरण गरी महिला हिंसा अन्त्यका लागि पहल गर्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा प्रदेशका १४ प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका संयोजक, स्थानीय निकायका प्रमुख र उपप्रमुखहरुको सहभागिता थियो । –रासस